झापा फाइनलमा



रुपन्देहीको फरवार्ड दीपक राईको बल खोस्ने प्रयासमा झापा ११ का रवि थापामगर । तस्वीरः नेस

नेपाल समाचारपत्र
बिर्तामोड
झापाली स्ट्राइकर कर्ण लिम्बूको ह्याट्रिकले रमपम झापा ११ एफसी यहाँ जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
रुपन्देही ११ लाई ४–० गोलको फराकिलो अन्तरले स्तब्ध पार्दै झापा फाइनलमा पुगेको हो। काँकरभिट्टा उच्चमाविको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा रुपन्देही ११ को चुनौती समाप्त पार्न थप एक गोलमा योगेश गुरुङको योगदान रह्यो। सिक्किममा सम्पन्न ३६औँ गभर्नर्स गोल्डकपपछि पहिलोपल्ट झापा ११ अर्को प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

पहिलो हाफको १०औँ मिनेटमा कर्णले डिवक्सभित्रै पाएको गोलको अवसर गुमाएका थिए। २०औँ मिनेटमा रवि थापा मगरको क्रसलाई गोल गर्न चुकेका कर्णले २१आँै मिनेटमा अर्को त्यस्तै अवसर सदुपयोग गर्न सकेनन्।
गोलको खाता खोल्न झापाले खेलको ३६औँ मिनेट खर्चिनुपरेको थियो। विपक्षी डिफेन्डरले अफसाइट ठानेको बललाई योगेशले करिब २५ यार्डबाट प्रहार गर्दा बलले सेकेन्ड बार च्याप्दै जाली चुम्दा रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्रीले अनुमान नै लगाउन सकेनन्।

यसबीचमा रुपन्देहीका खेलाडीले पनि गोल गर्ने केही अवसर गुमाएका थिए। रुपन्देहीका फरवार्ड दिपक राईले ३४औँ मिनेटमा वान भर्सेज वानको अवसरमा पनि गोल गर्न सकेनन्। उत्तम गुरुङले पनि कमजोर प्रहार गर्दा गोल हुन सकेको थिएन।
दोस्रो हाफपछि खेल एकतर्फी जस्तै देखिन्थ्यो। एक गोलले पछि परेको रुपन्देहीका खेलाडीमा मानसिक दबाब परेको थियो। ४१औँ मिनेटमा गोलरक्षक क्षेत्री बिट भएको अवस्थामा बुद्ध चेम्जोङको क्रसलाई गोल गर्न विशाल र कर्ण चुक्दा अग्रता दोब्बर हुन सकेन। खेलको ४८औँ मिनेटपछि रुपन्देही १० खेलाडीमा समेटियो। झापाका रजिन धिमाललाई फाउल गरेपछि रेफ्री लव खत्रीले रुपन्देहीका अफ्रिकन खेलाडी आरमन्डलाई रातो कार्ड दिएर मैदान बाहिर पठाए। उनी दोहोरो पहेँलो कार्डबाट बाहिरिएपछि १० जना खेलाडीमा सीमित रुपन्देहीले थप दबाब झेल्यो। यसैबीच, कर्णले ५१औँ मिनेटमा गोल गर्दै टीमलाई २–० को अग्रता दिलाए।
त्यसपछि कर्णले ७५ र ७७ औं मिनेटमा लगातार गोल गर्दै गोल्डकपकै पहिलो ह्याट्रिक पूरा गरेपछि रुपन्देहीको हार निश्चित बन्यो। अन्तिम गोल बुद्ध चेम्जोङले वान भर्सेज वानमा गरेको प्रहारमा गोलरक्षक क्षेत्रीले बचाउन खोज्दा रिबाउन्ड भएको बलमा कर्णले आकर्षक गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्