नाउरले स्याउँबारी पुरै सखाप



दुर्गाप्रसाद शर्मा, पर्वत
हिमालपारि जिल्ला मुस्ताङकै सबैभन्दा ठूलो स्याउँ बगैचामा जंगलबाट नाउर पसेपछि बगान नै सखाप हुने अवस्थामा पुगेको छ। मुस्ताङको छुसाङ गाविस स्थित ग्रीन ताङवे अर्गानिक स्याउँ बगानमा केही महिना यता नाउरको बथान पसेर बोट मास्न थालेको हो।

दैनिक रूपमा जंगलबाट आउने नाउरले स्याउँको बोट मास्ने गरेको ग्रीन ताङवेका प्राविधिक आनन्द सुनुवारले जानकारी दिनुभयो। ६ बर्ष अघि शुरू गरिएको यो बगान मुस्ताङकै ठुलो स्याउ बगान हो। २२ सय रोपनी क्षेत्रफलमा फैलिएको ग्रीन ताङवे क्षेत्रमा १६ हजार स्याउका विरुवा रोपिएको छ।
प्राविधिक सुनुवारका अनुसार नाउर पसेपछि अहिले जम्मा १४ हजार विरुवा मात्र बाँकी छन्। ‘दुई हजार भन्दा बढी बोट नाउरले सखाप पार्यो। ’ उहाँले भन्नुभयो ‘नाउर नियन्त्रण नगर्ने हो भने बगान पुरै सखाप हुने खतरा छ। ’ स्याउ बगैचाको वरिपरि पर्खाल लगाएको भएपनि पर्खाल नाघेर नाउर भित्र छिर्ने गरेको उहाँले बताउनुभयो।

नाउर मानिस संग घुलमिल हुन थालेपछि धपाउन पनि मुस्किल हुन थालेको अनुभव उहाँको छ। श्रावण र भाद्र महिनामा जुनसुकै समयमा स्याउँ बगैचामा छिर्ने गरेका नाउर हिउँदको समयमा विशेषगरी बिहान ८ बजे देखि १० बजेसम्म बगैचामा आउने गरेका छन्। केही विरुवा खाने र केही विरुवामा सिघुरी खेलेर नष्ट गर्ने गरेको कर्मचारीले बताए। बगैचाको तल्लो भागमा काम गर्दै जाँदा माथिल्लो भाग तिरबाट पस्ने र बगैचाको माथिल्लो भागमा काम गर्दै जाँदा तल्लो भाग तिरबाट नाउर पसेर चर्न थालेपछि समस्या देखिएको सुनुवारको भनाई छ।

खेतबारीमा लगाएका तरकारी तथा अन्य बाली नाउरले मास्न थालेको र यसको नियन्त्रणमा समस्या देखिएको ताङवेका गाउँ मुखिया सिङ धोर्जे गुरुङले बताउनुभयो। यस क्षेत्रमा नाउरको संख्या अत्याधिक छ।

चरनक्षेत्र माँसिदै जान थालेपछि जंगलमा आहाराको कमी भई पानी र घाँस विरुवा खानको लागि नाउर विस्तारै बस्ती तिर आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले बताउनुभयो।
तत्कालको समस्या न्युनिकरण गर्नको लागि कम्पाउण्डको वरिपरि खाल्डो बनाउने र पर्खालमा काँडेतार लगाउन सकिने दाहालको भनाइ छ।

नाउरको चरन क्षेत्र भएका लेकमा गोठ बनाई याक तथा भेडाच्याङग्रा पाल्न थालिएपछि चरनक्षेत्रको अभाव र डरले नाउर बस्ती तिर झर्ने गरेको र खेतबारी बगैचामा रहेका फलफुल, तरकारी अन्नबालीमा क्षति पुर्याउन थालेको सरोकारवाला बताउँछन्।

प्रतिक्रिया दिनुहोस्