उपत्यका बन्दको आंशिक असर



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौं उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिले बुधबार आह्वान गरेको उपत्यका बन्दको प्रभाव राजधानीमा आंशिक रूपमा परेको छ भने बन्दका क्रममा करिब आठ दर्जन बन्दकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गरी सरकारले गैरन्यायिक ढंगबाट सडक विस्तार गरी व्यक्तिलाई आफ्नो घरबाट उठिबास गरेको भन्दै समितिले सो बन्दको आह्वान गरेको हो। प्रहरीले बन्द गराउन सडकमा उत्रिएका ८३ जनालाई काठमाडौंका विभिन्न स्थान र ६ जनालाई ललितपुरबाट गिरफ्तार गरेको थियो। यस क्रममा १२ वर्षीया बालिका समेत गिरफ्तार गरिएकोमा प्रदर्शनकारीहरूले प्रहरी दमन भएको भन्दै प्रहरी विरुद्ध केही समय नाराबाजी गरेका थिए। प्रहरीले गिरफ्तारमा पर्ने प्रदर्शनकारीहरूलाई हिजो दिनभर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखेर साँझ रिहा गरेको थियो।

उपत्यका बन्दको समाचार संकलन गर्ने क्रममा प्रहरीले ९ जना पत्रकारहरूलाई गिरफ्तार गरेको छ। गिरफ्तारमा पर्ने पत्रकाहरूमा नेपाल भाषा टाइम्स दैनिकका संवाददाता उदेय न्हुसाय्मी, लहना साप्ताहिकका सुरेन्द्रभक्त श्रेष्ठ, रेडियो उपत्यकाका विगेन तुलाधर, कीर्तिपुर सन्देशका नरजराम महर्जन, झिगु स्वनिगः दैनिकका गोर्की श्रेष्ठ, भागवत प्रधान, शेषनारायण महर्जन, सुदेय शिलाकार र नमस्ते साय्मी रहनुभएको छ। उनीहरूलाई हिजो दिनभर महेन्द्र पुलिस क्लबमा राखेर साँझ रिहा गरिएको थियो। पत्रकारहरू गिरफ्तार गरिएको विरुद्धमा नेवाः पत्रकार राष्ट्रिय दबूले एक विज्ञप्ति प्रकाशित भत्र्सना गरेको छ।

प्रतिक्रिया दिनुहोस्