सुन्तलाको उत्पादन बढ्यो



अनिल खत्री, गुल्मी
गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ। जिल्लामा यस वर्ष ३ हजार १ सय ६ टन सुन्तला उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा १८ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ। जिल्लाका विभिन्न गाविसहरूमा लगाइएको सुन्तला खेती मध्ये अहिले ३५ प्रतिशत सुन्तला टिप्न बाँकी रहेता पनि पछिल्लो संकलित विवरण अनुसार उत्पादन बृद्धि भएको हो। जिल्लामा गत वर्ष २ हजार ६ सय ३२ टन उत्पादन भएको थियो।

जिल्लामा सुन्तला उत्पादन बृद्धि दर बढनुमा सुन्तला खेततर्फ किसानहरू आकर्षित हुनु, व्यवस्थित तरिकाले खेती गर्नु, कृषक बाट बगैचा सुढृढीकरण, मल, किटनासक बिषादी प्रयोग, बिरुवा काटँछाँट गरिएको र यस वर्षात बढी भएको, हावाहुरी कम भएको कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिनुभयो। जिल्लामा उत्पादन सुन्तला १० करोड ९८ लाख ५७ हजारको कारोबार भएको अधिकृत महतोले जानकारी दिनुभयो। जिल्लामा उत्पादन भएको सुन्तला हाल ३५ रूपैयाँ प्रति केजी देखि ९० रूपैयाँ प्रति केजीमा बिक्री हुदै आएको छ।

जिल्लाका प्रायजसो सबै गाविसहरूमा सुन्तला खेती भएपनि अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ, रेसुङा नगरपालिका, पिपलधारा, हाडँहाडे, नयाँगाउ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदह, लगायतका गाविसहरूमा कृषकहरूले व्यवस्थित रूपमा सुन्तला उत्पादन गर्दै आएका छन्। गुल्मीमा उत्पादन भएको सुन्तला ६५ प्रतिशत जिल्लामै खपत भएतापनि ३५ प्रतिशत भने जिल्ला बाहिर पाल्पा,वुटवल, पोखरा, काठमाण्डौं लगायका मुख्य बजारमा बिक्री बितरणको लागी लगिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्