पुरुषले गर्दैनन् बन्ध्याकरण



कुमार श्रेष्ठ, बाँके
बाँकेको टिटिहिरियामा बन्ध्याकरण शिविर बस्यो। १३ जना अप्रेसन गर्न आए। अप्रेसन गर्ने सबै महिला मात्रै भए। महादेवपुरी गाविसमा पनि शिविर पुग्यो। आठ जनाले अप्रेसन गर्दा यहाँ पनि पुरुष भेटिएनन्। कचनापुर र फत्तेपुर गाविसको अवस्था पनि उस्तै रह्यो। यी दुई गाविसमा क्रमशः १० र २४ जनाले अप्रेसन गर्दा पुरुष एकजना पनि परेनन्।

बिनौना गाविसमा २२ जनाले बन्ध्याकरण गर्दा एकजना पुरुष परे। रझेनामा २३ जनामा दुईजना, कोहलपुरमा १७ मध्ये दुई र मंगलबार मात्रै चलेको कम्दी गाविसमा ११ जनाले अप्रेसन गर्दा दुईजना मात्रै पुरुष थिए। बैजापुरमा २७ जनामध्ये चारजना पुरुषले बन्ध्याकरण गरेका थिए।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले यतिबेला गाउँगाउँमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको छ। वर्षेनीजस्तै यो वर्ष पनि बन्ध्याकरण गर्ने महिला नै धेरै देखिएका छन्। पुस ३ गतेदेखि १९ गतेसम्म नौवटा गाविसमा शिविर चलाउदा एक सय ५५ जनाले बन्ध्याकरण गरेका छन्। तीमध्ये ११ जनामात्रै पुरुष छन्।

चिकित्सकहरूका अनुसार, महिलालाई भन्दा पुरुषलाई बन्ध्याकरण गर्न सहज हुन्छ। बन्ध्याकरण गर्न आएका पुरुष केहीबेर आराम गरेपछि हिँडेर घर जान सक्छन्। महिलालाई केही दिन आराम गर्नैपर्छ। तर पनि, बाँकेमा भने लैंगिक विभेद चरम देखिएको छ। ‘पुरुषले कमाएर खुवाउनुपर्छ’ भन्ने सोच महिलामै रहेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रजनन् फाँटका बसन्त गैरेले पुरुषले बन्ध्याकरण गर्दा काम गर्न सक्दैनन् कि भन्ने भ्रम पर्ने गरेको बताउनुभयो। ‘तराईमा महिला नै अगाडि सर्छन्, गैरेले अनुभव सुनाउनुभयो, पहाडमा ठीक उल्टो हुन्छ। त्यहाँ पुरुषले धेरै बन्ध्याकरण गर्छन्।’

थारु र पहाडी समुदायमा अप्रेसन बढी हुने गरेको छ। मधेसी समुदायमा अप्रेसन गर्न डर मानेको तथ्यांक देखाउँछ। जिल्ला जनस्वास्थ्य कार्यालयले २९ गतेसम्ममा १४ वटा गाविसमा अप्रेसन शिविर सञ्चालन गर्ने बताएको छ। दुई सय जनाको अप्रेसन गर्ने लक्ष्य राखिएको छ। यसपालि मात्रै नभएर बाँकेमा हरेक वर्षको शिविरमा ९० प्रतिशत बढी महिलाले बन्ध्याकरण गर्ने गरेका छन्। मधेसी समुदायको बाहुल्य रहेका कतिपय गाविसमा एकजना पनि नभेटिएको इतिहास छ। २०७० र २०७१ मा नरैनापुरमा एकजना पनि बन्ध्याकरण आएका थिएनन्। यसपालि नरैनापुर नपरे पनि नजिकको गाविस गंगापुरमा शिविर राख्ने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस्