वनमा बदमासी वनको जमिन व्यक्तिको नाममा दर्ता



GEDSC DIGITAL CAMERA

सञ्जय कार्की
रौतहट

क्तिको नाममा वन क्षेत्रको जमिन दर्ता गरेको रहस्य खुलेपछि जिल्ला वन कार्यालय रौतहटले छानविन प्रक्रिया अघि बढाएको छ । रौतहटको रंगपुर गाविस–५ स्थित गुजरासोतीदेखि पूर्व आवादी, गाउँदेखि पश्चिम, नहरदेखि दक्षिण, गुजरा सोतीदेखि उत्तरको वन क्षेत्रको १ सय ६ बिगाहा जमिनलाई नापी कार्यालयले व्यक्तिको नाममा दर्ता गरेको रहस्य खुलेपछि जिल्ला वन कार्यालयले नापी कार्यालय र मालपोत कार्यालयसँग अभिलेख माग गरिएको छ ।

जिल्ला वन कार्यालय रौतहटले २०६४ असार ११ गते तत्कालीन श्री ५ नम्बर नापी गोश्वारा, सर्लाही मलंगवालाई उक्त चार किल्लाको वन क्षेत्रभित्रको जमिन सदियौंदेखि वनभित्र रहेकाले व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने जानकारी गराए पनि नापी कार्यालय रौतहटले १० वर्षपछि उक्त जमिन व्यक्तिको नाममा दर्ता गरेको रहस्य खुलेपछि जिल्ला वन कार्यालय रौतहटले छानविन थालेको हो । जिल्ला वन कार्यालय रौतहटले सहायक वन अधिकृत विन्देश्वर यादवको संयोजकत्वमा छानविन समितिसमेत गठन गरेको छ ।

जिल्ला वन कार्यालय चोचाका तत्कालीन रेन्जर रामकेबल यादवले २०६४ जेष्ठ १५ गते नापी कार्यालयले तयार गरेको फिल्डबुकमा उक्त जमिनमा कहीं पनि वन सीमाना नदेखिएको र पुरानो नम्बरी आवाद क्षेत्रभित्र पर्ने देखिएको भन्दै जमिनको अवस्था र अन्य प्रमाणहरू १ देखि २६ नम्बर कित्तासम्मका जग्गा नम्बरी आवाद क्षेत्रभित्रको जग्गा हो भनी फिल्डबुकमा हस्ताक्षर गरेको खुलेको छ ।

सोही आधारमा नापी विभागको आदेशअनुसार भन्दै नापी कार्यालय रौतहटले सो वन क्षेत्रको जमिनलाई १ देखि २३ सम्मको कित्ताकाट गरी जग्गाधनी स्रेस्ताको लागि २०७२ चैत ८ गते मालपोत कार्यालयमा बुझाएपछि वनको जमिन व्यक्तिको नाममा दर्ता गरेको रहस्य खुलेको हो । जिल्ला वन कार्यालय रौतहटका तत्कालीन प्रमुख वन अधिकृत हेमलाल अर्यालले वनभित्रको जमिन भएको नापी कार्यालयलाई जानकारी गराउनुभन्दा पहिलेकै मितिमा रेन्जर रामकेबल यादवले वनको जमिन नरहेको भन्दै फिल्डबुकमा हस्ताक्षर गरेपछि वन कर्मचारीको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरिएको आशंका उत्पन्न भएको छ ।

उता वन तथा भू–संरक्षण मन्त्रालयको आदेशअनुसार वन विभागले भने २०६९ साउन १६ गते उक्त जमिनको सम्बन्धमा स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्नका लागि टोली गठन गरे तापनि तत्कालीन रेन्जर रामकेबल यादवको मिलेमतोमा पहिलेकै मितिमा वनको जमिन व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ फागुन ५ गते मालपोत कार्यालय रौतहट, नापी कार्यालय रौतहट र जिल्ला वन कार्यालय रौतहटलाई सरकारी सार्वजनिक जग्गाको संरक्षण सम्बद्र्धन गरी कानुनबमोजिम कायम गर्न आयोगको निर्णयअनुसार निर्देशन दिए पनि आयोगको निर्देशनअघि नै नापी कार्यालय रौतहटले जग्गाधनी स्रेस्ता कायम गरेको पाइएको छ । नापी कार्यालय रौतहटका तत्कालीन प्रमुख धीरज देवको समेत मिलोमतो रहेको कर्मचारी स्रोतले बताएको छ । उता रेन्जर राम केबल यादवले भने आफू संलग्न नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले हस्ताक्षर गरेको छैन । एकैपटक मेरो हस्ताक्षर रहेको समाचार सुन्दा आश्चर्यमा परेको छु ।ु

किर्ते व्यक्तिको नाममा दर्ता भएको वन क्षेत्रको जमिनलाई जिल्ला वन कार्यालय रौतहटले २०५७ जेष्ठ ६ गते शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहलाई ९३ हेक्टर, २०६१ वैशाख २० गते जय हनुमान सामुदायिक वन उपभोक्ता समूहलाई ८८ हेक्टर, २०६८ असार ३१ गते आर्यघाट गुम्बा सामुदायिक वन उपभोक्ता समूहलाई ३० हेक्टर हस्तान्तरण गरी वन संरक्षणको जिम्मेवारी दिएको थियो ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घनारायण कोइरालाले व्यक्तिको नाममा वनको जमिन दर्ता भएको विषयमा अनुसन्धान थालिएको बताउनुभयो । गत वर्ष मात्रै जिल्ला वन कार्यालय रौतहटले सो क्षेत्रमा १० लाख ५० हजार रुपियाँ खर्चेर वृक्षरोपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्