सर्वनाममा भुरभुरा रहर



बुनु थारू

राजधानीको सर्वनाम थियटरमा पहिलोपटक थारू भाषाको नाटक भुरभुरा रहर मञ्चन भएको छ। केही दिनदेखि मञ्चन भइरहेको नाटकले उल्लेख्य संख्यामा दर्शक पाइरहेको छ। यसले राम्रो प्रतिक्रिया पनि पाएको छ। ‘ठेट थारू भाषामा रहेको नाटक हेर्न दर्शक नआउलान् भनेर पिरोलिएका हामी पहिलो शोमा नै दर्शकको राम्रो उपस्थिति देखेर उत्साहित भएका थियौं। नाटक हेर्ने दर्शकमा वृद्धि भएपछि उत्साहित भएका छौं। राम्रो प्रतिक्रियाले अझ बढी हौस्याएको छ’ –नाटकका निर्देशक प्रणव आकाशले भने।

नाटकको कथा वस्तुअनुसार थारू गाउँमा दशैंको चहलपहल शुरु भइसकेको हुन्छ। मानिसहरु कोही दशैंको टीका थापिरहेका देखिन्छन् भने कोही खानपिनमा व्यस्त देखिन्छन्। युवा–युवतीहरुको सखिया नृत्यले गाउँमा रौनक पनि थपिरहेको छ। अर्कोतिर एक किशोरी गुल्पी मजुरा (नाच्नका लागि चाहिने सामान) नभएर छट्पटाउँछे। गीत गाउन र नाच्ने एकदमै रहर गर्ने ऊ नाच्न नपाएर रुँदै बस्छे।

उसको नाच्ने रहर उसकी हजुरआमालाई थाहा हुन्छ। हजुरआमाको करकापले उसको बुबाले उसलाई मजुरा बनाइदिनका लागि उसको आमाको, हजुरआमाको गहना बेच्ने र घरमा पालिएको भेंडा पनि बेच्ने निर्णय गर्छ। मजुरा पाएको खुसीमा गुल्पीको भुइँमा खुट्टा हुँदैन। आफ्नो छोरीको नाच्ने रहर पूरा गर्नका लागि गरिब परिवारको त्याग देखाउने नाटक हो भुरभुरा रहर यसरी नै अगाडि बढ्छ।
युवतीहरु मिलेर माछा मारेको, कलकरवा (बाँदरको नाच देखाउने मान्छे) को रोचक प्रस्तुति, डोरी बाटेको दृश्य, युवतीहरु खोलामा रमाएको, कुवामा पानी भरेको, घोंगी, माछा खाएको दृश्य हेर्दा जो–कोहीले नाटक हेरेको नभई थारू गाउँमै प्रवेश गरेको महसुस गर्छ। आफ्नो संस्कृति जोगाउने काम युवाहरुकै हातमा हुन्छ भन्ने सन्देश दिनु नाटकको अर्को सकरात्मक पक्ष हो।

नाटकमा नन्दुराज चौधरी, अन्जु चौधरी, भूमिका चौधरी, भिष्मा चौधरी, निरज चौधरी, सरिता चौधरीलगायत १३ जना कलाकारले अभिनय गरेका छन्।

सिमरानीको भूमिकामा रहेकी भूमिका चौधरी चरित्रमाथि न्याय गरेकी छिन्।
‘शुरुमा डर लागे पनि दर्शकको साथ पाएपछि राम्रो गर्न सकें’ –भूमिकाले हौसिँदै भनिन्। नाटकमा पानफुला बनेकी भिष्मा चौधरीले बेलाबेलामा थेगो प्रयोग गरी दर्शकलाई मज्जाले हँसाएकी छिन्। सबै कलाकारको प्रस्तुति सबल मान्न सकिए पनि कुनै–कुनै दृश्य लामा हुँदा हतास लाग्न सक्छ। यद्यपि नाटकले बीच–बीचमा गाएर मनोरञ्जन गराउँछ। सजावटमा थारूपन झल्किने सामान थपिए अझ जीवन्त महसुस हुन सक्थ्यो।

चम्पन सांस्कृतिक समूहको प्रस्तुति रहेको नाटक सुशील चौधरीले लेखेका हुन्। गत पुस १५ गतेदेखि शुरु भएको नाटक आगामि २३ गतेसम्म बिहीबारबाहेक हरेक दिन सर्वनाम थियटरमा मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्