कर्मचारीलाई ‘खर्च’ बुझाउँदै काठ तस्करी



(मोतीराम तिमल्सिना)/ काभ्रे, २० पुस ।

भुकम्प पीडितका नाममा थुपारिएको भनिएको पाँचखाल नगरपालिका ३ फेदी बजारमा रहेको उमादेवी फर्निचरले ब्यवसायीक रुपमै काठको तस्करी गर्ने रहस्य खुलेको छ ।

जिल्ला बन कार्यालयले तोकेको अनुसन्धान अधिकृत ओमबहादुर ओलीले भने उक्त फर्निचरका प्रोपाईटर तेजप्रसाद न्यौपानेलाई काठ तस्करी गरेको श्रोत नखुलेको भन्दै राष्ट्रिय बन ऐनमा मुद्दा दर्ता गरेका छन् । जिल्ला बन कार्यालय काभ्रेको निर्देशनमा अनुसन्धान अधिकृत ओमबहादुर ओलीले न्यौपानेले बन फँडानी क्षेत्रको पहिचान नभएको र ब्यत्तिहरु समेत पहिचान नभएको देखाउँदै राष्ट्रिय बन फँडानी नभएको अवस्थामा पनि सोहि बन ऐन अनुसार मुद्दा तयार गरी अदालतमा पेश गरेका छन् ।

उनी आफै इलाका बन कार्यालयका प्रमुख हुन् जसको संरक्षणमा न्यौपानेले बर्षाै देखि अबैद्य काम गर्न उत्साहित भएका थिए । न्यौपानेले देउपुरको सालठाँटी लगायतका क्षेत्रबाट दैनिक ट्रक र ट्रयाक्टरमा राखेर ल्याएको काठ नीजि आवादी क्षेत्रको हो ।

कसरी उनले ब्यत्ति पहिचान हुन सक्दैन भन्दै नक्कली मुद्दा तयार गरे ? जिल्ला बन कार्यालय काभ्रेले किन उनकै संयोजकत्वमा अनुसन्धान गर्दै छ ? इलाका बन कार्यालयहरुको रेखदेख गर्ने सेल्टर बनका प्रमुख प्रमुख रामकुमार भण्डारी कहाँ छन् ? यत्रो बन फँडानी गर्दा यिनको काम के हो ? सुराकी कहाँ परिचालन गरिएको छ ? बन कार्यालयका कर्मचारीको काम के हो ? मिलेमत्तो सबैको भएकाले मुद्दालाई कमजोर बनाउन परिपञ्च गर्दै तस्करहरुलाई उन्मुक्तिको प्रयास गरिएको छ । १ लाख ८५ हजार विगो देखाएर अदालतबाट धरौटीमा छुटाउने र पुनः तस्करीमा प्रशय दिने योजना अनुरुप अनुसन्धान भएको भन्दै ब्यवसायीहरु समेतले आपत्ति जनाएका छन् ।

ब्यवसायीहरुले त्यति ठुलो परिणाममा काठ कहाँबाट आयो ? त्यसको श्रोत के हो ? श्रोत विना ब्यवसायीले काठ कसरी विक्री वितरण गर्न सक्छ ? त्यसको बारेमा गहिरो अनुसन्धान गरी ब्यवसायीहरुलाई मात्रै गरिएको कारवाहीको निश्पक्ष अनुसन्धानको माग गरेका छन् । भुकम्प पीडितहरुले हालसम्म काठका लागि कुनै सामुदायिक बन तथा जिल्ला बनमा समेत निवेदन नदिएकाले उक्त काठ तस्करीको भएको पुष्टि भएको छ । झण्डै ४० लाखको काठको सरकारी मुल्य १ लाख ८५ हजार तोकिएको छ ।

तस्करीलाई सहयोग पुग्ने गरी प्रहरीलाई समेत अवरोध गर्दै केहि स्थानीयहरु आफ्नै काठ भएको दावी गर्दै नारा जुलुसमा समेत उत्रिएका थिए । जिल्ला बन कार्यालय भन्छ उनिहरुलाई समेत हामी चिन्दैनौं ? जिल्ला बन कार्यालयको लापर्वाहिका कारण सेल्टर बनकै सहयोगमा जिल्लाका अन्य सामुदायिक बन तथा आवादी क्षेत्रको बन फँडानी भई जिल्लाका विभिन्न फर्निचरहरुमा अबैद्य काठ ओसार पसार तथा विक्री वितरण भईरहेको छ । बन कार्यालयका प्रमुख प्रेमप्रसाद खनालले उक्त क्षेत्रका कर्मचारीहरुको निगरानी भईरहेको बताए । ब्यवसायीहरुले भने भुकम्प पीडितहरुको काठ रहेछ र प्रमाण सहित आउँछन भने उक्त काठ फिर्ता पठाएर अन्यलाई मुद्दा दताए गर्नु पर्ने बताएका छन् ।

प्रहरीले पुष १२ गते अनुगमनका क्रममा फेला परेको पाँचखाल नगरपालिका ३ फेदी बजारमा रहेको तेजप्रसाद न्यौपानेको उमादेवी फर्निचरमा थुपारिएको ५ सय २१ थान गोलिया काठ तस्करी गर्ने मुख्य अभियुक्तहरुलाई जिल्ला बन कार्यालयले उन्मुक्ति दिने गरी अनुसन्धान तयार गरी अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्