सीमानाकामा भारुको अवैध कारोबार बढ्दै



बनियानी  झापा, २० कात्तिक । झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो ।

नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय ९० सम्म नेपाली रुपैयाँ लिने गरेका छन् । अझ बाटोमै बसेर भारुको अवैध कारोबार गर्नेले त भारु सयको दुई सय रुपैयाँसम्म लिने गरेका छन् । किन यति धेरै विनियम दर भनेर मनी चेन्जर सञ्चालकलाई प्रश्न गर्दा ‘यस्तै छ’ भन्ने गरेका छन् ।

भारतको सीमावर्ती बजार गलगलिया, पानीट्याङ्की, नक्सलबाडी लगायतका बजारमा किनमेलका लागि यहाँका सर्वसाधारण जाने गरेका छन् । भारु सटहीको मार नेपाली मात्र नभई भारतीय नागरिकलाई समेत परेको छ । नेपाल घुमफिरका लागि भारतको दिल्लीबाट आएका दिवाकर सेट्टीले भारु साट्न समस्या भएको सुनाए । उनले भने, “एक हजार नेपाली रुपैयाँको पाँचसय मात्र भारु दिने भन्छन्, के गर्नु समस्यामा परेको छु ।”

नेपाल राष्ट्र् बैंकको भद्रपुर शाखा र काँकरभिट्टा शाखाले दैनिक रु तीनलाख भारु बाँड्ने गरे पनि त्यो पर्याप्त भएको छैन । बैंकमा घन्टौँसम्म लाइन लागेर पनि ग्राहकले भारु पाउन सकेका छैनन् ।

भारुको कारोबार गर्नेले पानीट्याङ्कीमा नेपाली उपभोक्ताले खर्च गरेको पैसा पसलबाट सङ्कलन गरी पुनः काँकरभिट्टा नाकामा ल्याएर बेच्ने गरेका छन् । यसरी सङ्कलन गरेको रकम कारोबारीको हातमा आउने र पुनः महँगोमा बेच्ने गरेकाले नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् ।

“पहिले त रु एक हजार साट्दा ५०/६० रुपैयाँ बढी दिँदा पाइन्थ्यो”, किनमेलका लागि गलगलिया जान लागेकी भद्रपुरकी सङ्गीता पौडेलले भनिन्, “यसो दुई÷चार पैसा सस्तोमा चिनी, तेल पाइन्छ भनेर पैसा साट्न आएको, एक हजार भारुको एकहजार आठसय पो भन्छन् रु” उनले नियामक निकायले चासो नदिँदा सर्वसाधारण जहिल्यै पनि मारमा पर्ने गरेको बताइन् । रासस
––––––

प्रतिक्रिया दिनुहोस्