पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने



पोखरा, १९ पुस । सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनिकीकरण एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिरियरिङ क्याम्पस पोखराद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकारसम्मेलनमा क्याम्पस प्रमुख नारायण गौतमले यही पुस २२ र २३ गते प्रदर्शनी आयोजना गरिने जानकारी दिनुभयो ।

उहाँले प्रविधिको अधिकतम उपयोगबाट विश्वव्यापी सूचना तथा प्रविधि, भौतिक आधारशिलाको विकासका साथै वस्तु तथा सेवाको उत्पादनमा मितव्ययिता र उद्योग तथा व्यापारमा आधुनिकीकरण गरी समाजको परिवर्तन गर्न सकिने नमुना प्रस्तुत गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

प्रदर्शनीमा इन्जिनियरिङ विषयका न्यूनतम ४० वटा प्रदर्शनी स्टल राखिने भएका छन् । विद्यार्थीद्वारा निर्मित सोलार कार, जलकुम्भी झार निकाल्ने उपकरण, धान काट्ने मेसिन लगायतको प्रदर्शनी हुने जानकारी दिँदै गौतमले यस्ता प्रदर्शनीले काम गर्ने विधि र यन्त्रबाट उत्पादकत्व वृद्धि गर्दै लागत घटाउन सकिन्छ भन्ने कुरालाई सर्वसाधारणसमक्ष पु¥याउन सकिने विश्वास लिइएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्