विशेषज्ञ कुकुर जुम्लामा, मूर्तिचोरको व्यापक खोजी



जुम्ला, १९ पुस । जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति आज विहान भेटिएपछि मूर्ति चोरलाई तत्काल पक्राउ गर्न विशेष कुकुरसहित केन्द्रीय अनुसन्धान ब्यूरोका दुई सदस्यीय टोली जुम्ला आइपुगेका छन् ।

अनुसन्धानबाट सकेसम्म दोषी चाँडो पत्ता लागोस् भन्ने उद्देश्यले विशेष कुकुर सहितको केन्द्रीय ब्यूरो टोलीलाई जुम्ला बोलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

उहाँका अनुसार आज अपरान्ह ३ः२० बजे जुम्ला आइपुगेका सो टोलीले तत्काल मूर्ति फेला परेको स्थान देपालगाउँतर्फ लागेका छन् ।

आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा मूर्ति भेटाएको हो । भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मूर्ति तथा पित्तल र तामाका भगवतीका दुई मूर्ति भेटिएको जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो ।

त्यसैगरी दाहिने शङ्ख एक र बायाँ शङ्ख एक तथा तीन रुद्राक्ष पनि भेटिएको बताइएको छ । “हामीले सुराक पाएअनुसार सदरमुकामबाट बिहान डेढ घन्टाको पैदलपछि ८ः०० बजे मात्र मूर्ति नियन्त्रणमा लिएका थियौं”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्