सहमतिमै संशोधन प्रस्ताव पारित हुन्छ: सभापति देउवा



काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सबै दलको सहमतिमा पारित हुने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै आज सभापति देउवाले छिट्टै संसद्को गतिरोध अन्त्य हुने र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत सबै दलको सहमतिमा संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयोे ।

संसद्मा पेस भएको संशोधन विधेयक जस्ताको त्यस्तै पारित हुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न दलहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य छ ।”

सभापति देउवाले राजनीतिक गतिरोध अन्त्य गर्न सर्वाेच्च अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै संसद्को आगामी बैठक सुचारु गर्न एमाले सहमत हुने आशा व्यक्त गर्नुभयो । आगामी वैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जुन भए पनि निर्वाचन हुने दाबी गर्दै उहाँल २०७४ मङ्सिरसम्ममा तीनवटै निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा सभापति देउवाले छिट्टै पार्टीका केन्द्रीय विभाग गठन हुने र पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने जानकारी गराउनुभयो ।

उहाँले निर्वाचनको तयारीका लागि सबै केन्द्रीय सदस्यलाई जिल्ला पठाइसकेको बताउँदै त्यसपछि सबै भ्रातृ संस्थालाई परिचालन गरिने धारणा व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्