एघार हजारले पाए नयाँ दृष्टि



दाङ, १९ पुस । यहाँको अस्पतालले सन् २०१६ मा ११ हजारभन्दा बढी मोतीविन्दुका बिरामीको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको छ ।

राप्ती आँखा अस्पताल दाङले एक वर्षका अवधिमा दुई लाख २० हजार ५९ जना आँखाका बिरामीलाई सेवा दिएको र तीमध्ये ११ हजार २०५ जनामा मोतीविन्दुका कारण आँखा नदेख्ने समस्या थियो । त्यसैगरी अस्पतालले यस वर्ष निःशुल्क आँखा शिविर र स्कुल आँखा स्वास्थ्य कार्यक्रम गरी निःशुल्क रुपमा २६ हजार तीन सय ४९ जनालाई सेवा दिएको छ ।

त्यस्तै अस्पतालले १० हजार ९५१ जना दृष्टिदोष भएका आँखाका बिरामीलाई सेवा दिएको छ । अस्पतालले सचेतनाका लागि धामीझाँक्री, शिक्षक, आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका र विद्यालयका शिक्षकलाई गरी तीन सय ४६ तालिम दिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

यसैबीच यहाँका पत्रकारलाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । अरु समुदायलाई आँखा देखाउने पत्रकारले अरुको आँखा बन्द हुन नदिनका लागि आवश्यक ज्ञान दिनका लागि तालिम दिइएको वरिष्ठ नेत्र सहायक शालिकराम गौतमले बताउनुभयो । तालिममा यस क्षेत्रका ४० पत्रकारको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्