समाचार प्रभावः अमरलाई आर्थिक सहयोग



(दिपेन्द्र शर्मा) /जाजरकोट, १९ पुस ।
उपचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोटका एक सुकुम्वासी विरामीको  उपचारको लागी  सहयोग संकलन शुरु भएको छ ।  नेपाल समचारपत्रमा प्रकाशित आर्थिक अभावमा उपचारको समस्यामा सुकुम्बासी अमर भन्ने समाचारको प्रभावले सहयोग संकलन भएको हो  ।

म्याग्दी घर भई युकेमा बस्ने ख्याम शेरचन र गिता गिरी शेरचनले २० हजार सहयोग गरेका हुन् । सम्पतीका नाममा केही पनि नभएका सुकुम्वासी अमरको पिडादायी अवस्थामा मलम पट्टि लगाउन सहयोग होस् भनेर राहत स्वरुप २० हजार सहयोग गरिएको गिता शेरचनले बताइन । सहयोग बापतको रकम जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पिडित अमरका बाबु जाने आग्रीलाई हस्तान्तरण गरेका छन् ।

गाउँमा एक सिन्को पनि सम्पती नभएका अमरका वावु जने आग्रीले आर्थीक अभावमा  अमर लाई धामी झाक्री वाहेक अन्यत्र कतै उपचारका लागी लिन सकेन ।  आफूसंग पैसा नभएकोले सुविधा सम्पन्न ठाँउमा लगेर छोराको उपचार गराउन नसकेको जनले बताए ।  घरमा जनेका ४ छोरा ५ छोरी रहेका छन । कुनै पनि सम्पत्ती नभएकोले जानेको परिवारको बासोबासकालागी गाउँको सार्वजनिक ठाँउमा खरले छोएको सानो टहरोमा वसिरहेका छन । सरकारले वितरण गरेको हलिया परिचय पत्र  पाएका छन तर सरकारी सहयोग पाएका छैनन ।

जाजरकोट ढिमेको घरङगाका अमर बहादुर आग्रीलाई सहयोग गर्न सहयोग संकलन शुरु गरिएको छ । बोल्न, सुन्न र हिडडुल गर्न नसक्ने आग्री १७ वर्षदेखि ओछ्यानमा थला परेका छन् ।
गरिब परिवारका अमर अरुको साहारामा बाची रहेका छन । हात, खुटटा नचल्ने, कान पनि नसुन्ने र बोल्न नसक्ने अमरको स्याहारका लागी एक जना दैनिक हेराला बस्नु पर्ने बाध्यता रहेको छ उनको परिवारलाई ।  घरको कुनै पनि परिवार सदस्यले  अमरले खाना र दिसा पिसाव गर्ने समयमा ध्यान नदिए उनि आफनै ओछयानमा आफ्नै दिसा र पिसाब सगै पल्टीरहेका हुन्छन ।

उनको यो अवस्थाको हेरचाह बाबु आमाले गर्दथे आमाको मृत्यु भएपछि झनै समस्या परेको अमर कसैले इसरा गरेर बोलेपछि बुझे जस्तो गरि चल्न र पल्टीन खोज्छन तर उनको यो अवस्थाले त्यो चाहाना कहिल्यै पुरा हुन दिदैन । उनलाई दैनिक खुवाउने खाना पनि झिंगाले फोहरै फोहर बनाएको हुन्छ । अरुको साहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा  लाग्दा पानी समयमा पाउन सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्