मध्यरातमा १ सय ८० गोरुसहित ८ ट्रक नियन्त्रणमा



(सीताराम चौधरी) / कपिलवस्तु, १९ पुस ।
कपिलवस्तुबाट तस्करी गर्दै पूर्वतर्फ लैजाँदै गर्दा १ सय ८० गोरुसहित ८ ओटा ट्रक पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल नेतृत्वको टोलीले शिवराज नगरपालिका ३, खरेन्द्रपुरबाट ट्रकलाई नियन्त्रणमा लिएको हो ।

शाखा अधिकृत अर्यालले भन्नुभयो,“आज मध्यरातमा जवाभारीबाट गोरु लोड गरी तस्करले गोरु सप्लाई गर्दैछ भन्ने विशेष गोप्य सूचना पाएँ । सोही सूचनाका आधारमा लामो समयको प्रयासपछि झण्डै राति १२ बजेको समयमा गोरु लोड गरिएका ८ ट्रक पक्रन सफल भएँ ।” अर्यालले दिएको जानकारी अनुसार ना ५ ख ८८९० नम्बरको ट्रकमा २०, ना ६ ख ६५१० मा २४, ना ६ ख ५८० मा २१, ना ६ ख २०८१ मा १९, ना ६ ख ७३०८ मा २०, ना ६ ख ३३३४ मा २२, ना ६ ख ५२०५ मा २० र ना ५ ख ९००९ मा २५ ओटा गोरु लोड गरिएका ट्रक पक्राउ परेका छन् ।

ट्रकलाई प्रशासनले नियन्त्रणपछि सोधपुछ गर्दा चालकहरुमध्ये कसैले झापा लैजाने जानकारी दिए भने कसैले कोशी ब्यारेजमा झार्ने बताएको प्रशासनका शाखा अधिकृत अर्यालले जानकारी दिनुभयो । पशुमाफियाको नाम सोध्दा गोरु पु¥याउन जाने लेबरहरुले कोड भाषाको नाम ‘नुनु’ भन्ने साहुको माल हो भनी बताएको उहाँले भन्नुभयो । तर पशुमाफियाको वास्तविक नाम थाहा नभएको लेबरहरुको भनाई थियो । झापा र कोशी ब्यारेजसम्म पु¥याउँदा भाडा बापत ट्रकहरुले ४० हजारदेखि ४५ हजार रुपैयाँसम्म पाउने बताए ।

पक्राउ परेका सबै ट्रक प्रशासनकै निगरानी रहने गरी वडा प्रहरी कार्यालय चन्द्रौटाको परिसरमा राखिएको प्रशासन शाखा अधिकृत अर्यालले जानकारी दिनुभयो । गोरु तस्करबारे विशेष अनुसन्धान प्रक्रिया अगाडि बढाइने अर्यालले जनाउनुभयो । अपरेशन टोलीमा इलाका प्रशासन कार्यालयका नायब सुब्बा गणेश कार्की, सशस्त्र प्रहरी पोष्ट खरेन्द्रपुरका प्रमुखको विशेष साथ दिएको अर्यालले बताउनुभयो । ट्रक नियन्त्रणमा लिन खरेन्द्रपुरमा खटिएका सशस्त्र प्रहरीको सहयोग रहेको बताइएको छ ।

नेपाल भारतबीच खुल्ला सिमानाका कारण अहिले कपिलवस्तुमा गोरु तस्करी मौलाएको छ । पशु तस्करहरुले सबैलाई लाइन मिलाएर तस्करी गर्ने गरेको एक स्थानीयको भनाई छ । तस्करीका लागि कपिलवस्तु हरेक हिसाबले सुगम ठाउँ भएकाले पनि तस्करीको रोजाईमा कपिलवस्तु परेको हो । साथै कपिलवस्तुको बहादुरगञ्जमा प्रत्येक सोमबार पशु हाटबजार लाग्ने हुँदा पनि तस्करले मौकाको फाइदा उठाउने गरेको बताइन्छ ।

भारतका विभिन्न नाकाबाट विना भन्सार र क्वारेन्टाइन विना नै नेपाल भित्राइन्छ । तस्करले दैनिक ज्याला दिई दिउँसै जिल्लाको बगही, बहादुरगञ्ज हुँदै जवाभारी आसपासका गाउँमा पु¥याइन्छ । ज्याला पाउने भएपछि ७।८ वर्षे बालकदेखि बुढासम्मले बहादुरगञ्जबाट एक एक हल गोरु धपाउँदै जवाभारीसम्म ल्याउने गरेको स्रोतको भनाई छ । तस्करले भन्सार र पशु क्वारेन्टाइनको नक्कली विल बनाई रातारात ट्रकमा लोड गरी नेपालका पूर्वी जिल्ला पु¥याइन्छ । त्यहाँबाट पुनः लाइन मिलाएर मासुका लागि तेस्रो मुलुक बंगलादेश लगायतका स्थानमा पु¥याइने गरेको बताइन्छ । गोप्य स्रोतका अनुसार भारतका केही राज्यहरुमा गोरुहरुका बिक्री र मासुमा प्रतिबन्ध छ । जसका कारण पशुमाफियाहरु नेपालको बाटो अपनाई खुलेयाम गोरुको तस्करी गर्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्