दोषीलाई कारबाहि गरः दलित आयोग सदस्य सुनार



(अनिल खत्री)/गुल्मी, १९ पुस ।
अन्तरजातिय प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै एक जोडीलाई गाउँ निकाला गरेको विषयलाई लिएर दलित आयोगको टोलीले अर्वेनीमा पुगेर स्थलगत अनुगमन गरेको छ ।

अर्वेनी–५ का ७८ वर्षिय लालबहादुर सुनार र ४३ वर्षिया सावित्रा न्यौपानेलाई चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा कुटपीट समेत गरि पुस १ गते गाउँ निकाला गरिएको थियो ।

सोहि विषयलाई लिएर दलित आयोगका सदस्य गोविन्द सुनार लगायतको टोली जिल्ला आएको हो । अनुगमनको क्रममा यो घटना अहिले सम्मकै घटनाहरुमा सवैभन्दा ठूलो मानव अधिकार हनन र जघन्य अपराध भएकाले तत्काल दोषीलाई कारबाही गर्न सरकारसँग सदस्य सुनारले माग गरे ।

उनले यो घटनामा जातिय विभेद मात्र नभएर ७८ वर्षको बृद्धलाई हुँदै नभएको अनैतिक सम्बन्धको आरोप लगाउँदै महिलासँग सम्बन्ध कायम गर्ने र अर्को परिवारसंग सम्बन्ध विच्छेद गर्दै बिस्थापित गराउनु गम्भिर मानव अधिकार हनन भएको बताए ।

सिंगो गाउँका जिम्मेवार व्यक्तिले हात बाँधेर, घर समेत भत्काएर सम्बन्ध बिच्छेदको कागज गराउँदै कुट्दै र पिट्दै गाउँ निकाला गराउनु देशभरका ६५ लाख दलितको लागी दुखद पक्षको भएको प्रतिक्रिया दिए । सुनारले जिल्ला प्रहरी कार्यालयमा आरोपित बिरुद्ध मुद्धा दर्ता भएको एक साता बितिसक्दा समेत प्रसासनले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको प्रति कडा आपत्ति जनाए ।

उक्त घटनाको बिषयलाई लिएर राष्ट्रिय स्तर सम्मका सञ्चार माध्यमले समेत सुरु देखि नै निरन्तर पछ्याई रहेपछि सरोकारवाला निकाय ध्यानकृष्ट भैरहेको छ । थप दवाव सृजना गर्न आयोगका सदस्य गोविन्द सुनार सहित जिल्लाका दलित अगुवा र पत्रकार एवं मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

प्रसासनको तर्फबाट ज्ञापन पत्र बुझ्दै प्रसासकिय अधिकृत भत्तिराम मरासिनीले प्राप्त ज्ञापनपत्र र पीडितको निवेदन प्रधानमन्त्रकिो कार्यालयमा पठाउने बताए । सार्वजानिक अपराधको मुद्धा दायर भएको एक हप्ता विति सक्दा पनि उनीहरुलाई पक्राउ गर्न सहयोग गर्नुको साटो आरोपितहरुलाई काँधमा बोकेर घटनालाई गाउँमै मिलाउन दवाद दिने गाविका तिनवटै राजनैतिक दलका प्रमुखहरु प्रति नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्माले कडा आपत्ति जनाए । पीडित दलित बृद्ध र महिला सदरमुकाम तम्घासमा बस्दै आएका छन् । आरोपीत बिरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्