कुखुरा फर्म चार सयभन्दा धेरै



नेपाल समाचारपत्र
काभ्रे
कुखुराको मासु तथा अन्डा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको कृषि मन्त्रालयलको योजनालाई काभ्रेपलाञ्चोक जिल्लाले लक्ष्यभन्दा धेरै योगदान पुर्याएको तथ्यांक जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको छ।

सरकारको लक्ष्य प्रत्येक व्यक्तिले वार्षिक ४८ वटा अन्डा खान पाउने भए पनि हाल ४२ वटा मात्रै प्राप्त भइरहेको छ। काभ्रेपलाञ्चोक जिल्लामा भने यसअघि नै ५० वटा पुगिसकेको र चालू वर्षमा ५८ वटा पुगेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका वरिष्ठ पशु विकास अधिकृत डा. नारायणबहादुर श्रेष्ठले बताए। राष्ट्रिय उत्पादनमा काभ्रे जिल्लाले अन्डा उत्पादनमा १० वटा सहयोग गरिरहेको जानकारी श्रेष्ठले दिए। नेपालमै कुखुरा व्यवसायमा दोस्रो जिल्लाका रूपमा चिनिएको काभ्रेपलाञ्चोकलाई अझै व्यवसायिक बनाउन पन्छीमा लाग्ने रोग पहिचानका लागि ल्याबको स्थापना, कुखुराको मासु प्याकेजिङ, वधशालाको निर्माण, बायोसेक्युरिटीमा ध्यान दिनुपर्ने उनले बताए। २ सयभन्दा धेरै कुखुरा व्यवसायिकरूपमा पालिरहेका ४ सय कृषकमध्ये ७६ वटा मात्रै दर्ता भएको उनले बताए। १२ वटा ह्याचरी र कृषकहरूको फार्ममा १८ लाख कुखुरा ग्रामीण क्षेत्रमा र ४० लाख कुखुरा व्यवसायिकरूपमा पालन गरिरहेको डा. श्रेष्ठले बताए।

सरकारले चालू वर्षमा अन्डामा आत्मनिर्भर बनाउने अभियान शुरु गरेपछि काभ्रेपलाञ्चोकले राष्ट्रिय अभियानलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन्। राज्यले दिने अनुदान तथा सहयोग कार्यक्रम अभिलेख नभएका फर्महरूलाई दिन नसकिने भएकाले पोल्ट्री व्यवसायमा आबद्ध भएकाहरूले तत्काल फार्मको अभिलेखीकरण गर्न उनले सुझाव दिए। कार्यक्रममा नेपाल परिवार दलका लेखनाथ सापकोटाले जिल्ला विकास समितिले लगाउने भनिएको कर तत्काल लागू गरी सोही क्षेत्रमा खर्च गर्नुपर्ने तर त्यसको भार कृषकलाई पर्न नहुने बताएका थिए।

जिल्ला पशु सेवा कार्यालय र पोल्ट्री व्यवसायी मञ्च काभ्रेको संयुक्त आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा पोल्ट्री मञ्चका जिल्ला सचिव दयाराम महतले व्यवसायीहरूको एकता र सुरक्षाका लागि राज्यले प्रदान गरेका सेवा सुविधा साथै ऐन नियम कार्यान्वयन गर्नुपर्ने बताएका थिए। बर्डफ्ल्लुपछि अर्काे ठूलो रोग तत्काल नआएको भए पनि व्यवसायीहरू जतिबेला पनि असुरक्षित भएकाले बीमा, अभिलेख र सुरक्षा अपनाउनुपर्नेमा जोड दिएका थिए। पत्रकार मधुसूदन गुरागार्इंले कुखुरा उत्पादन भए पनि बजारको अभाव भएकाले त्यसको व्यवस्थापन गर्दै दूधजस्तै पोल्ट्रीको क्षेत्रमा पनि आत्मनिर्भर बन्न र देशमै पहिलो जिल्ला बन्न सुझाव दिएका थिए। मान्छेको आहारमा परिवर्तन भएकाले पोल्ट्री व्यवसाय फस्टाउँदै गएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्