मृगौला रोगको डायलाइसिस सेवा निःशुल्क



एकैदिनमा ५१ जनाले सेवा प्राप्त गर्न सक्ने

बुटवल, (नेस) विगत १५ महिनादेखि मृगौला रोग विशेषज्ञको निगरानीमा ६ वटा मेसिनबाट मृगौलाका बिरामीलाई डायलाइसिस सेवा प्रदान गर्दै आएको बुटवलमा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालबाट अब निःशुल्क डायलाइसिस सेवा प्रदान हुने भएको छ। हप्तामा ३ दिन सेवा प्रदान गर्ने गरी दैनिक ५१ जना बिरामीलाई सेवा प्रदान गर्न सकिने बताइएको छ।

स्वास्थ्य मन्त्रालयले यस अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा प्रदान गर्ने निर्णय गरेसँगै बुटवलवाट यो सेवा शुरु गर्न लागिएको हो। विगतमा यस अस्पतालमा निःशुल्क सुविधा उपलब्ध नहुँदा दैनिक १० देखि १५ जना बिरामीहरूले पैसा तिरेर डायलाइसिस गराइरहेका थिए भने कतिपय बिरामीहरू भैरहवा धाउन बाध्य थिए। यसअघि २ हजार ५ सय रुपियाँमा बिरामीले मृगौला रोग डायलाइसिस गर्दै आएकोमा सरकारले निःशुल्क डायलाइसिस सेवा प्रदान गर्ने निर्णय गरेकाले यो सेवा निःशुल्क हुने भएको छ। गैरनाफामुखीरूपमा सञ्चालित यस अस्पतालले ६ वटा डायलाइसिस मेसिनबाट सेवा प्रदान गर्दै आएकोमा ११ वटा मेसिन थप गरी १७ वटा मेसिनबाट सेवा प्रदान गर्ने भएको अस्पतालका अध्यक्ष एजाज आलमले आइतबार बुटवलमा पत्रकार सममेलन गरी जानकारी गराउनुभयो।

यस क्षेत्रमा बिरामीलाई गुणस्तरीय र सहज सेवा उपलब्ध गराउने उद्देश्यले थप ११ वटा मेसिन खरिद गरिएको उहाँले बताउनुभयो। ११ वटा मेसिन जडान भइसकेपछि राजधानीबाहिरको सबैभन्दा ठूलो डायलाइसिस युनिट हुनेछ। रुपन्देही उद्योग संघको संरक्षकत्व, रोटरी क्लब अफ बुटवल साउथको सहयोगमा उक्त डायलाइसिस युनिट सञ्चालन भएको समेत अध्यक्ष आलमले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्