अत्यावश्यक औषधी अभाव



विमल विष्ट, डोटी
ल्ला स्वास्थ्य कार्यालयको लापरबाहीका कारण लामो समयदेखि डोटीमा अत्यावश्यक औषधीको अभाव देखिएको छ। लामो समयदेखि जिल्ला स्वास्थ्य प्रमुखविहीन हुनु, केन्द्रबाट पाउने औषधीका लागि समन्वय गर्न नसक्नु र आफैं खरिद गर्नुपर्ने औषधीसमेत जिल्ला स्वास्थ्यले ल्याउन नसक्दा अभाव देखिएको हो।
अहिले डोटीका जिल्ला अस्पतालदेखि गाउँका स्वास्थ्य चौकीहरूमा औषधी नहुँदा बिरामीहरू मर्कामा परेका छन्। ‘ग्यास्ट्रिक, पखाला, खुजुली, प्रसूतिपश्चात् लगाइने सुई एक वर्षदेखि हामीसँग छैन’, मुडेगाउँ स्वास्थ्य चौकीका इन्चार्ज प्रेम कठायतले भन्नुभयो– ‘तीन महिनादेखि आइरन, आईभीपी खोप र सिटामोल पनि अभाव भइरहेको छ।’ क्षयरोगीलाई अनिवार्य खुवाउनुपर्ने औषधी पनि अभाव भएको उहाँको गुनासो छ। निमोनिया, दम, रुघाखोकीलगायतका औषधी पनि प्रयाप्त नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

डोटीमा क्षेत्रीय मेडिकल स्टोर धनगढीले ७ महिनादेखि औषधी पठाएको छैन। तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख रीता भण्डारीले बाहिर मिडियामा औषधी छ भनेर दाबी गरेको भए पनि औषधी लिन गएका स्वास्थ्यकर्मीलाई थोरै मात्र हातमा थमाएर पठाउने गरेको स्वास्थ्यचौकी इन्चार्जहरूको आरोप छ। ‘न माथिबाट ल्याउनुपर्ने औषधी ल्याउन सकिन् न जिल्ला स्वास्थ्यबाट किनेर औषधीको अभाव हटाउन सकिन्’, तिखा स्वास्थ्यचौकी इन्चार्ज तेज खड्काले औषधी अभावको आरोप तत्कालीन कार्यालय प्रमुख रीता भण्डारीमाथि लगाउँदै भन्नुभयो– ‘हामीले यसबारे कुरो उठाउन खोज्दा उल्टै हामीमाथि व्यक्तिगत रिसइबी बढाइयो।’

असोजमा कार्यालय प्रमुख भण्डारीको सरुवा भएपछि जिल्ला स्वास्थ्यमा हालसम्म नयाँ कार्यालय प्रमुख आएका छैनन्। भण्डारी सरुवा भएर गएपछि निमित्तको जिम्मेवारी पाएका खोप सुपरभाइजर रामस्वार्थ यादवले आर्थिक अधिकार नहुँदा टेन्डर प्रक्रिया अघि बढाउन सकेनन्। लामो समयपछि आर्थिक अधिकार निमित्त यादवले पाएपछि ३ लाख बराबरको औषधी आपत्कालीन अवस्थामा खरिद गरेर काम चलाइएको बताइएको छ।

‘दुई त्रैमासिक औषधीविहीन बनेका स्वास्थ्य संस्थाहरूमा सिटामोलसमेत थिएन’, जिल्ला स्वास्थ्य कार्यालयका औषधी फाँटका स्रोत व्यक्ति हरिस शाहले भन्नुभयो– ‘अहिल आन्तरिकरूपमा खरिद गरिएको ३ लाख बराबरको औषधी अलि–अलि गरेर सबैलाई बाँडेका छौं। जुन माग गरिएको भन्दा ज्यादै न्यून हो।’ चालू आर्थिक वर्षका लागि जिल्ला स्वास्थ्यले आफैं टेन्डर प्रक्रियाबाट खरिद गर्न पाउने गरी ४५ लाख रुपियाँ बजेट आएको छ। ४५ लाखमध्ये ३ लाख बराबरको औषधी निमित्त प्रमुख रामस्वार्थ यादवले खरिद गरेर
वितरण गरिसकेका छन्। बाँकी ४२ लाख बराबरको औषधी खरिदका लागि टेन्डर खोलिसकिएको छ। औषधी आउन अझै महिनादिन लाग्नसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्