दुर्घटनामा दुई स्कुले विद्यार्थीको मृत्यु



बारा, (नेस)
अंग्रेजी नयाँ वर्षमा पिकनिक खाएर फर्कंदै गरेका स्कुले छात्रछात्रा बोकेको बस बाराको गढिमाई नपास्थित पूर्वपश्चिम राजमार्गको दुधौरा पुलबाट खस्दा २ जनाको मृत्यु भएको छ र ३ दर्जनभन्दा बढी घाइते बनेका छन्।

उपचारका लागि वीरगन्ज लैजाने क्रममा दुवैको बाटोमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा डिम जनता उमाविमा अध्ययनरत सर्लाही चिसापानी गाविस १ की १८ वर्षीया छात्रा रविना बँजु र परवानीपुर–५ का १७ वर्षीय छात्र सन्देश बस्नेत रहेका छन्। दुर्घटनामा ३८ गम्भीर घाइते बनेका छन्। चालक शिवराम थापासहित १० को अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

विद्यालयबाट बिहान रिजर्भ गएको ना३ख७६६८ नम्बरको बस हेटौंडास्थित शहीद स्मारकबाट पिकनिक खाएर फर्किने क्रममा राजमार्गको पथलैया निजगढ सडक खण्डको दुधौरा पुलबाट राति ८ बजे खोलाको बगरमा खसेको थियो। जिल्ला ट्राफिक कार्यालय निजगढका प्रहरी नायब निरीक्षक वीरेन्द्र रायमाझीले चालकको लापरबाहीले दुर्घटना भएको बताए। ‘पुल पार भइसक्ने बेलामा अनियन्त्रित भई खसेको देखियो’, नायब निरीक्षक रायमाझीले भने– ‘मुख्य कारण क्षमताभन्दा बढी यात्रु र तीव्र गति हो।’ उनले बसको क्षमताभन्दा अधिक छात्रछात्रालाई कसरी यात्रा गराइयो भन्नेबारेमा अनुसन्धान भइरहको जानकारी पनि दिए। ‘चालकको अवस्था सामान्य बनेपछि घटनाको कारणबारे थप तथ्य बाहिर आउनेछ।’ –नायब निरीक्षक रायमाझीले भने। पुल पार गर्न करिब १० मिटर मात्र बाँकी रहँदा बस एक्कासि ३० फिटमुनि बगरमा खसेको थियो। चालक थापाले मदिरा सेवन गरेको हुनसक्ने अनुमान पनि प्रहरीले गरेको छ।

दुर्घटनालगत्तै मध्य–क्षेत्रीय कार्यालय पथलैया, जिल्ला ट्राफिक कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालय बाराबाट पुगेको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी अस्पताल पठाएको थियो। घाइतेमध्ये ३८ को वीरगन्जस्थित नेसनल मेडिकल कलेज, मेडिकेयर अस्पताल, नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र अन्यलाई सामान्य उपचारपछि घर फकाइएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्