तीन दल बैठकमा चर्काचर्की



नेपाल समाचारपत्र
काठमाडौं
एक महिनादेखि अवरुद्ध व्यवस्थापिका संसद्को बैठक सुचारु गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की भएको छ। संसद् सुचारु गर्न बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच संविधान संशोधन प्रस्तावमाथि छलफल अगाडि बढाउने⁄नबढाउने भन्ने विषयमा चर्काचर्की भएपछि बैठक निष्कर्षमा नपुगी सकिएको थियो।

सहमति निर्माणका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलको शीर्ष बैठकमा सत्तारूढ दल कांग्रेस–माओवादीले प्रस्ताव अगाडि बढाउनुपर्ने र प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता लिएपछि मात्र संसद् सुचारु हुन दिने अडान लिएपछि बैठक बिनानिस्कर्ष सकिएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वय गर्न संविधान संशोधन विधेयक अगाडि बढाउन आवश्यक भएकामा जोड दिँदै एमालेलाई सहमतिमा आउन आग्रह गर्नुभएको थियो।

जवाफमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्न नदिने अडान दोहोर्याउनुभएको थियो। बैठकपछि एमाले अध्यक्ष ओलीले संविधान संशोधन विधेयक फिर्ता नभएसम्म संसद् चल्न नदिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘संसद् चल्नका लागि प्रस्ताव फिर्ता लिनुपर्छ।’

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्नका लागि संविधान संशोधन अपरिहार्य रहेकाले एमालेले संसद् सुचारु गरेर लोकतान्त्रिक विधि र प्रक्रियामार्फत आफ्नो माग पूरा गर्नुपर्नेमा जोड दिनुभएको थियो।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन दलबीच छलफल भए पनि सहमति जुट्न नसकेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तीन दलबीच कुरा नै मिल्न सकेको छैन कहाँबाट सहमति हुनु?’ प्रमुख तीन दलबीच छलफललाई निरन्तरता दिने विषयमा भने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्