ट्रम्पको शपथ ग्रहणमा गीत गाउन अस्वीकार



वासिङ्टन, (एजेन्सी)अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा सामूहिक गायन क्वायर समूहका एक जना सदस्यले गाउन अस्वीकार गर्दै समूहबाटै राजीनामा दिएका छन्।

उनले ट्रम्पका लागि समारोहमा गाउनुको अर्थ तानाशाह रवैयाको समर्थन गर्नु रहेको प्रतिक्रिया दिएका थिए। ट्रम्पले जनवरी २० मा शपथ लिनेछन्। मार्मन टेम्बरनेकलले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती दिने बताएका थिए। तर उक्त समूहका प्रमुख सदस्य जेन चेम्बरलेनले ट्रम्पका लागि गाउन अस्वीकार गरे।

उक्त घटनापछि समूहका अध्यक्षले आफ्नो राजीनामा सुम्पेका छन्। चेम्बरलेनले आफ्नो फेसबुकमा पोस्ट गरे– ‘मैले आफैसँग भनेको थिएँ, सबै कुरा मिल्नेछ। मैले म मानव र भगवानमा फरक छुट्याउन सक्छु भन्ने महसुस गरेको थिएँ। म यतिमात्रै भन्न चाहन्छु कि हिटलरमाथि फुल चढाउँदिनँ। यो पनि निश्चित छ कि म ट्रम्पका लागि गाउँदिनँ।’

क्वायर गु्रपमा धेरैजनाले एकसाथ गीत गाउँछन्। यसलाई कोरस ग्रुप पनि भन्ने गरिन्छ। क्वायरमा ७० देखि १ सय जना म्युजिसियन हुने गर्छ। यसअघि मर्मन टैबरनेकल क्वायर ग्रुपले जर्ज एचडब्ल्यु बुस (१९८९), रिचर्ड निक्सन (१९६९) र लिन्डन जोनसन (१९६५) को शपथ ग्रहण समारोहमा गीत गाइसकेको छ।

क्वायरले जर्ज डब्ल्यु बुस (२००१), रोनाल्ड रेगन (१९८१)का लागि शपथ ग्रहणमा पनि परफर्म गरेका थिए। यसैबीच ट्रम्पले सन् २०१७ मा कम्प्युटरमा विश्वास गर्न नसकिने बताएका छन्। उनले उक्त कुरा नयाँ वर्षको पूर्वसन्ध्याको पार्टीको अवसरमा आफ्नै मारएलेगो क्लबमा बताएका थिए।

उनले निजी सूचनाको सुरक्षित गर्ने विषयमा कुनै पनि कम्प्युटर सुरक्षित नभएको बताए। उनले अनलाइन कम्युनिकेसन सेक्युरिटीका बारेमा पनि आशंका व्यक्त गरे। ट्रम्प लगातार ट्विट गरिरहन्छन्, तर उनी इमेल र कम्प्युटरको प्रयोग कहिलेकाहींमा गर्छन्। ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले अमेरिकी राष्ट्रपतीय चुनावलाई ह्याकिङको माध्यमबाट रुसले प्रभावित पारेको आरोपलाई अस्वीकार गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्