अन्तरदेशीय क्षेप्यास्त्र निर्माण अन्तिम चरणमाः राष्ट्रपति किम



प्योङयाङ, (एजेन्सी) उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरू आणविक हातहतियार बोक्न सक्ने लामो दूरीको क्षेप्यास्त्र निर्माणको अन्तिम चरणमा रहेको जानकारी आइतबार दिएका छन्। देशबासीको नाममा नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उनले उत्तर कोरिया अन्तरदेशीय ब्याालिस्टिक क्षेप्यास्त्र निर्माणको अन्तिम चरणमा पुगेको बताएका छन्।

उत्तर कोरियाले गत वर्ष मात्र दुईवटा आणविक परीक्षण गरेको थियो। जसमध्ये एउटा भने अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताइएको थियो। संयुक्त राष्ट्रसंघले भने उत्तर कोरियालाई आणविक र क्षेप्यास्त्र परीक्षण नगर्न दबाब दिइरहेको छ। संयुक्त राष्ट्र संघले यसै विषयलाई लिएर उत्तर कोरियामाथि नाकाबन्दी पनि लगाउँदै आएको हो।

सन् २०११ मा आफ्ना पिता किम जोङ इलको ह्दयाघातबाट निधन भएपछि नेतृत्व सम्हालेका किमले टेलिभिजन सन्देशमा भनेका छन्– ‘नयाँ प्रविधियुक्त हतियारको निर्माण र आईसीबीएम रकेट परीक्षण प्रक्षेपण अन्तिम तयारीमा रहेको छ।’

उत्तर कोरियाले केही समयअघि मात्र अमेरिकासम्म मार हान्न सकिने क्षेप्यास्त्र बनाउने उद्देश्यमा ठूलो सफलता हात पारेको दाबी गरेको थियो।

तर अमेरिकी सेनाका एक उच्च अधिकारीले भने उत्तर कोरियाको यो दाबी आधारहीन भएको प्रतिक्रिया दिएका थिए। हरेक वर्ष दक्षिण कोरिया र अमेरिकाबीच आयोजना हुने गरेको संयुक्त सैनिक अभ्यासलाई उत्तरले आफूमाथिको आक्रमणको तयारीको संज्ञा दिँदै आएको छ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध बिना कुनै शान्ति सम्झौता अर्थात् युद्ध विराम घोषणामा मात्र सकिएकाले द्वन्द्व विशेषज्ञहरू उत्तर र दक्षिण कोरिया अझै प्राविधिकरूपमा युद्धरत रहेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्