(सुशील देवकोटा) २०६२⁄६३ को जनआन्दोलनपछि अधिकांश नेपाली निकै खुशी थिए । प्रायः सबैको बुझाइ एउटै थियो– निरकुंशताको अन्त्य भयो, अब जनताको दिन आयो, जनताको शासन आयो, किनकि अब गणतन्त्र आयो । हजारौं नेपालीले प्राण उत्सर्ग गरेपछि आएको भनिएको यो तन्त्र वास्तवमा नै गणतन्त्र हो त ? जनताको शासन जनताको लागि छ त ? यो प्रश्न सोध्न र यसबारेमा सोच्न अब ढिलो गर्नुहुँदैन ।

गणतन्त्र भन्नेबित्तिकै हामी एउटा यस्तो देशको कल्पना गर्छौं, जहाँ लोकतन्त्र हुन्छ र लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको अभिव्यक्ति स्वतन्त्रता हो । आफ्नो विचार सभ्य र कानुनी दायरामा बसेर व्यक्त गर्न पाउनु लोकतान्त्रिक देशको जनताको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रता भन्दैमा देशको अखण्डता, सार्वभौमिकता र सामाजिक सद्भावलाई प्रतिकूल असर पर्ने, अपाच्य हुने वा देशको कानुनले निषेध गरेको कुराचाहिँ बोल्न पाइँदैन । यो सबै नागरिकले बुझ्नु आवश्यक छ र नबुझेकालाई बुझाउनु आवश्यक छ । यो बुझाउने जिम्मा देश हाँक्ने नेताहरूको हो । यो बुझाउने जिम्मा संवैधानिक निकायका प्रमुखहरूको हो र यो जिम्मा सरकारी सेवकहरूको हो । अब यहाँ यो प्रश्न गर्नै पर्ने हुन्छ कि के ती नेता, संवैधानिक प्रमुख र सरकारी सेवकहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् त ? जवाफ सहज छ– छैनन् ।

हाम्रो देशमा जब अख्तियार प्रमुखमाथि महाअभियोग दर्ता हुन्छ, तब उनले तीन बित्ता माथि उफ्रिँदै भन्छन्– भएका प्रमाणहरू जनसमक्ष देखाएमा यहाँ धेरै नेताको शरीरको वस्त्र पनि रहँदैन । यदि उनको कुरालाई सही मान्ने हो भने उनले भ्रष्ट नेताहरूको बारेमा राम्रो बुझेका रैछन्, राम्रो अनुसन्धान गरेका रैछन् र उनी यस कुरामा स्पष्ट रैछन् कि ती व्यक्तिहरूले अनैतिक काम गरेर सम्पत्ति कमाएका हुन् । यदि यो हो भने उनले किन आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गरेनन् ? किन जनतामाझ पहिले नै त्यो सूची ल्याएनन् ? कसले रोकेको थियो उनलाई इमानदारीका साथ आफ्नो कार्य गर्न ? कि कुनै निजी स्वार्थ पूरा गर्न जानी–जानी उनले लुकाएर राखेका थिए ती नामहरू ? जब आफ्नो स्वार्थ पूरा नहुने भयो तब ब्ल्याकमेलिङ गर्न खोजेजसरी उनले धम्की दिए– आफूसँग भएका प्रमाणहरू जनसमक्ष देखाएँ भने यहाँ धेरै नेताको शरीरको वस्त्र पनि रहँदैन ।

देशको आर्थिक वृद्धिदर निकै तल झरेको छ । विकासको गति शून्यजस्तै छ । शान्ति सुरक्षाको स्थिति नाजुक छ । महँगी बढेर आकाशमा पुगिसकेको छ । सामाजिक सद्भाव बिथोलिएको छ । राजनीतिक पार्टीका हनुमानबाहेक सबैले यो कुरा बुझेका छन्, भोगेका छन् । यस कुराले राष्ट्रियता भएका जो–कोही नागरिक पनि चिन्तित छन्, जुन स्वाभाविक पनि हो । यसै परिप्रेक्ष्यमा पूर्वराजाले आफ्नो चिन्ता व्यक्त गर्दा देशका प्रधानमन्त्रीले धम्कीको भाषा बोल्छन् । डर, त्रास देखाउनु वा धम्की दिनु भनेको अराजकता पैmलाउनु हो । के प्रधानमन्त्रीले यसरी अराजकता पैmलाउन हुन्छ ? के अभैm उनी त्यो आतंकको धङधङीबाट मुक्त नभएकै हुन् त ? यदि साँच्चै दरबार हत्याकाण्डको कुनै रहस्य उनलाई थाहा छ भने कुन स्वार्थले उनले त्यो आजका मितिसम्म लुकाएका थिए ? उनले यस कुराको जवाफ दिनुपर्छ सबैभन्दा पहिले । होइन भने आफ्नो गैरजिम्मेवार अभिव्यक्तिको लागि देश र जनतासँग माफी माग्नुपर्छ, उनले फेरि पनि जनतामाझ जानु छ भने ।

नेपालको एउटा साधारण जनताले समेत दिक्क भएर दिनरात गर्ने प्रश्न नै कुनै बेला वंशजको आधारमा देश हाँकेका र हाल नागरिक भएर बसेका एक व्यक्तिले गर्दा त्यत्रो कोकोहोलो किन ? त्यत्रो डर किन ? चोरको खुट्टा काट् भन्दा पहिला नै खुट्टा थुत्न खोज्नुको अर्थ नेपाली जनताले कसरी र के भनेर बुझ्ने ?
जुन देशमा देशको प्रधानमन्त्री धम्कीको भाषा बोल्छन्, त्यहाँ अरु नेताले सभ्य, सुसंस्कृत र जिम्मेवार भाषा बोल्छन् भनेर कसरी मान्ने ? अख्तियार प्रमुखजस्तो व्यक्तिले धम्कीको भाषा बोल्छन् भने त्यहाँ अरुबाट के अपेक्षा गर्ने ? देशको एउटा जिम्मेवार राजनीतिक पार्टीका कार्यकर्ताले देशको सर्वोच्च न्यायपालिकाभित्र छिरेर कानुन आफ्नो हातमा लिँदै कसैलाई कालोमोसो दल्छन् भने त्यहाँ शान्ति सुरक्षाको आश कसरी गर्ने ? जनताको शासन हुनुपर्ने तन्त्रमा जनचाहना पूरा गर्न डराउने नेताहरू धम्की दिनचाहिँ अलिकति पनि डराउँदैनन् । कोही संविधान आपूm अनुकूल नभए देश टुक्र्याउने धम्की दिन्छन् भने कोही आपूm अनुकूल निर्णयहरू नभए, नियुक्तिहरू नभए सरकार गिराउने धम्की दिन्छन् । अनि यी नेताहरू एक–अर्कालाई दोष दिन्छन्, एक–अर्कालाई औंलो उठाउँछन् र जनतालाई बेवकुफ बनाउँदै नेपथ्यमा फेरि एक–अर्कासँग घाँटी जोड्छन् र गर्छन् सामूहिकरुपमा आपूmहरूलाई फाइदा हुने निर्णय । पूरा गर्छन् आफ्नो स्वार्थहरू ।
अनि कसरी यसलाई गणतन्त्र भन्ने ? कसरी यसलाई जनताको शासन भन्ने ? जनताले चुनावमा हराएको व्यक्तिलाई आपूmखुशी निर्णय गरेर देशको प्रधानमन्त्रीको पगरीसमेत गुथाइदिने र नागरिकले केही बोले डर, त्रास र धम्की देखाइने यो गणतन्त्र हो कि धम्कीतन्त्र ?

LEAVE A REPLY