रेडक्रसका स्वास्थ्य गतिविधिहरू विस्तारित हुने



नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत उपकरणसहितको फिल्ड अस्पताल सञ्चालनमा ल्याउने भएको छ । त्यस्तै आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स, प्राथमिक उपचार, रक्तसञ्चार, मनोसामाजिक सहयोगलगायत सामान्य अवस्थामा बालबालिका युवा, महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनका गतिविधिहरू नेपाल रेडक्रसले समन्वयात्मक तरिकाले विस्तार गर्ने जानकारी दिएको छ। पहिलो चरणमा चितवनमा शुरू भएको नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यसम्बन्धी गतिविधिहरूको ३ दिने वार्षिक समीक्षा बैठकमा सो जानकारी दिइएको हो ।

समीक्षाको क्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरूले रेडक्रसले सञ्चालन गरेका एम्बुलेन्स, रक्तसञ्चार, खानेपानी, सरसफाइ, अन्धोपन निवारणजस्ता विविध क्षेत्रका गतिविधिको मुक्त कष्ठले प्रसंसा गरेका थिए । साथै, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपाल सरकारका विभिन्न निकाय तथा मन्त्रालयहरूबीच समन्वय बढाउन बैठकले आह्वानसमेत गरेको थियो । आगामी ६ महिनाभित्र काभ्रे, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा उप–स्वास्थ्य चौकीहरू पुनर्निर्माण गरिने कार्यक्रम रहेको पनि जानकारी गराइयो । त्यस्तै प्राथमिक उपचारका लागि मोबाइल एप्लिकेसन बनाइने, बढ्दो सडक दुर्घटनालाई ध्यानमा राखी पैदलयात्रु, चालक, यात्रु र बालबालिकालाई लक्षित शैक्षिक गतिविधिहरू सञ्चालन गरिने कार्यक्रम रहेका छन् ।

समाजकल्याण परिषद्, नेपाल सरकारका स्वास्थ्य मन्त्रालय र त्यसअन्र्तगत शुक्रराज ट्रपिकल अस्पताल, जनस्वास्थ्य प्रयोगशालालगायत विभिन्न निकायहरू, महिला तथा बालबालिका मन्त्रालय, संयुक्त राष्ट्रसंघका निकायहरू, गैरसरकारी संस्था, प्राथमिक उपचारका विषय विज्ञहरू, नेपाल प्रहरी, नेपाल रेडक्रस, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ एवम् अस्ट्रेलियन, नर्बेजियन, क्यानेडियन, अमेरिकन र स्वीस रेडक्रसका प्रतिनिधिहरू गरी झण्डै १ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी रहेका थिए ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले नेरेसोलाई समुदायमा पहिचान र स्वीकार्यता प्राप्त भै आएको सम्झना गर्दै भन्नुभयो– ‘नेपाल सरकारको स्वास्थ्य नीति, अन्तर्राष्ट्रिय फोरमहरूले औँल्याएका प्राथमिकता र नेपाल रेडक्रसको सातौँ विकास योजनामुताविक नेरेसोका स्वास्थ्य गतिविधिहरू अघि बढिरहेका छन्।’ रेडक्रसका सभासद् डा. विजयकुमार सिंहले रेडक्रसले स्वास्थ्यका प्रवद्र्धनात्मक, रोकथाममूलक र उपचारात्मक सबै क्षेत्रमा काम गर्न सक्छ भन्ने उदारहण दिइसकेको बताउनुभयो ।

समाजकल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, महिला तथा बालबालिका मन्त्रालयका महानिर्देशक नरेशकुमार चापागार्इं, स्वास्थ्य सेवाविभाग ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गुणनीधि शर्मा, नेरेसो महामन्त्री देवरत्न धाख्वा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि माइकहिगिन्सन, अस्ट्रेलियन रेडक्रसका प्रतिनिधि मुकेश सिंह, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख टंक चापागाईंले नेपालको स्वास्थ्य क्षेत्रमा एकीकृत र समन्वयात्मक गतिविधिसम्बन्धी थप सुधार गर्नुपर्ने विषय औंल्याउनुभएको थियो ।

रेडक्रसका स्वास्थ्य गतिविधि तथा आपत्कालीन अवस्थामा स्वास्थ्य सेवाका विषयमा पनि बैठकले विचार गरी स्वास्थ्य रणनीतिमा समावेश गर्न बैठक सहयोगी हुने नेरेसो स्वास्थ्य सेवाका निर्देशक मोना अर्यालले बताउनुभयो ।

स्वास्थ्य सेवामा सिमान्तकृत समूह र महिलालगायतको आवश्यकतालाई सम्बोधन गर्ने, भूकम्प प्रतिकार्यअन्र्तगत सञ्चालित स्वास्थ्य गतिविधिहरूको समीक्षा गर्ने, नेपाल रेडक्रसले सञ्चालन गरिआएका रक्तसञ्चार, प्राथमिक उपचार, आँखासेवा जस्ता महत्त्वपूर्ण गतिविधिलाई नियमित, दीगो र गुणस्तरीय बनाउने एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय स्वास्थ्य चासोका विषयहरूलाई रेडक्रस गतिविधिमा समावेश गर्दै जाने उपायहरू पहिचान गर्ने विषयमा समीक्षा बैठकमा गहन छलफल भएको नेरेसोका सञ्चार प्रमुख दिब्यराज पौडेलले जानकारी गराउनुभयो ।

नेरेसो केन्द्रीय स्वास्थ्य सेवा समितिका सभापति उत्तम जोशी, नेरेसोका उपमहामन्त्री हरिप्रसाद न्यौपानेलगायतले नेरेसोको महत्त्व र भूमिकालाई प्रष्ट पार्नुभएको थियो । गत वर्ष गएको भूकम्पपश्चात नेरेसोले सिन्धुपाल्चोक, रसुवाको धुन्चेलगायतका क्षेत्रमा आपत्कालीन अस्पताल खडा गरी काम गरेको जानकारी गराइयो। अहिले सिन्धुपाल्चोक र काभ्रेमा २४ वटा स्वास्थ्य केन्द्रहरूको पुनर्निर्माण गतिविधिसहित स्वास्थ्य, सरसफाइ र खानेपानीजस्ता क्रियाकलाप सञ्चालन गरिरहेको पनि जानकारी गराइयो । नेपाल रेडक्रसका स्वास्थ्य क्षेत्रका प्रवद्र्धनात्मक, रोकथाममूलक र उपचारात्मक नियमित गतिविधिहरूबाट गतवर्ष ४१ लाखभन्दा बढी लाभान्वित भएको पनि स्पष्ट पारियो ।

नेरेसोले हालसम्म गरेका कामको केही झलक अघि सार्दै पौडेल भन्नुहुन्छः
१. नेपालमा प्रजनन् उमेर समूहका मृत्युवरण गर्ने महिलाको १६ प्रतिशत आत्महत्याको कारणले हुन्छ ।
२. नेपालमा ६६ हजार ५ सय २० किमी सडक रहेको छ । वार्षिक ९ हजार दुर्घटनाहरू हुने र २ हजार मानिसले ज्यान गुमाउनु परेको छ । यो समस्यालाई सम्बोधन गर्न नेपाल रेडक्रसले १ हजार ७ सय २३ स्वयंसेवक परिचालन गरेको छ ।
३. गतवर्ष ३ हजार ६ सय २७ रक्त संकलन मोबाइल क्याम्प सञ्चालन गरियो । जम्मा २ लाख ३० हजार नौसय पिन्ट रक्त संकलन भएको छ । गतवर्षको तुलनामा यो ६ थोप्लो ४ प्रतिशत वृद्धि हो ।
४. रेडक्रसले सञ्चालन गरेको आँखा अस्पताल तथा फिल्ड हस्पिटलबाट एक लाख सत्तरी हजार मानिसहरूले सेवा पाएका छन् ।
५. एक लाख ९४ हजार व्यक्तिलाई गतवर्ष प्राथमिक उपचार प्रदान गरिएको छ ।
६. गतवर्ष नेपाल सरकारले सञ्चालन गरेको दादुरा रुबेलाखोप अभियानबाट २ लाख १५ हजार थप बालबालिकाले खोप पाएका छन् । नेरेसोले यो अभियानलाई सघाउँदै ४० हजार बढी मानिसहरूलाई सन्देश पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्