कर्मचारी हत्याको विरोधमा ताप्लेजुङमा सरकारी कार्यालयको काम ठप्प



रविन भट्टराई/ताप्लेजुङ, १८ पुस ।
ताप्लेजुङको खोक्लिङमा हत्या गरीएका वन कार्यालयका कर्मचारीको हत्यारालाई कारवाहिको माग गर्दै ताप्लेजुङका कर्मचारीहरुले आज  सोमबार विहान दुई घण्टा कार्यालयको काम ठप्प पारेका छन् ।

जिल्लामा रहेका विभिन्न पेशागत कर्मचारी संघ, संगठनको आवाहानमा विहान १० बजे देखि मध्यान्न १२ बजे सम्म पेन डाउन गर्दै कार्यालयको काम ठप्प पारेका हुन् ।

हत्यापछि निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, स्थानिय विकास कर्मचारी संगठन र गाविस सचिव हकहित केन्द्रले संयुक्त तथा फरक–फरक प्रेश विज्ञप्ति जारीगर्दै हत्यामा संलग्नलाई कानुन बमोजिम कारवाहि गर्नुपर्ने, मृतकका परीवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने, मृतकलाई राष्ट्रसेवक सहिद घोषणा गर्नुपर्ने, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका छन् ।

उनीहरुले सोमबार विहान ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै कर्मचारीलाई सुरक्षाको प्रत्याभुति हुनेगरीको सुरक्षा दिन मागसमेत गरेका छन् ।

ज्ञापन पत्र बुझाउँदै निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालले उल्लेखित माग पुरा नगरे कडा आन्दोलन समेत गर्न कर्मचारीहरु पछि नपर्ने चेतावनि समेत दिएका छन् ।

यसैविच जिल्ला वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुुख दानबहादुर श्रेष्ठले कर्मचारीको हत्या भएकाले अब गाउँमा गएर काम गर्ने सक्ने अबस्था नरहेकाले आजबाट बन कार्यालयबाट हुने सम्पुर्ण काम ठप्प पारेको बताए ।

हत्यारालाई प्रहरीले नियन्त्रणमा लिएर पनि सामुदायिक बनकै पदाधिकारीबाट कर्मचारी असुरक्षित रहेकाले कर्मचारीलाई सुरक्षाको प्रत्याभुति नभएसम्म र हत्यारालाई कडा कारवाहि नगरे सम्म जिल्ला वन कार्यालयको सम्पुर्ण काम ठप्प पार्ने बताए ।

ईलाका वन कार्यालय खोक्लिङमा कार्यरत जाजरकोट दसेरा ८ निवारी गणेश शाहीको आईतबार विहान स्थानिय सविन लिम्बु भनिने टेक प्रसाद लिम्बुले घाटि रेटि हत्या गरेका थिए ।

निजी र सामुदायिक वनको सिमाना बारेको बिवादले उग्ररुप लिँदा आक्रोसमा आएका लिम्बुले छलफलकै क्रममा स्थानिय दावा शेर्पाको खुकुरी झिकि घाँटि रेटेर हत्या गरेको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न लिम्बुलाई प्रहरीले आईतबार साँझ सदरमुकाम क्षेत्रबाटनै नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केशिले बताए ।

हत्यामा संलग्न लिम्बुले सामुदायिक बनमा अलैचि लगाएको र सिमाना छुट्याए अलैचि लगाउन नपाउने भएपछि आबेसमा आई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

लिम्बु पुर्व वाईसिएल कार्यकर्ता रहेको र यस अघि सुनसरीको धरानमा बसि विभिन्न अपराधिक कृयाकलापमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ । मृतकको शब पोस्टमाटमका लागि गएराति ताप्लेजुङ अस्पतालमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्