चोरद्वारा एकको हत्या



इटहरी, १८ पुस / मोरङ जिल्लाको सुन्दरदुलारी–६ निवासी ५७ वर्षीय धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा डकैती गर्न आएका डाँका समूहलाई खेदने क्रममा डकैती समूहका मानिसले टाउकोमा चिर्पटका  प्रहार गरेका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएको छ ।

गएराति १२ बजे शरीर र अनुहारमा मोबिल दलेर सखुवाको आग्लो बोकेर रिक्सामा पेट्रोल पम्प पुगेका ती डाँकाले पम्पमा रहेका पुष्पप्रसाद सिग्देललाई ढोका खोल्न दबाब दिएपछि उनी अब मरिने भइयो भनेर छतमा चढी हामफालेर चोर चोर भन्दै भागेपछि गाउँले पम्पतिर आउँदा ती चोरले गुरुङलाई प्रहार गरेका थिए ।

डकैत समूहले प्रहार गरेर गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज पु¥याई सघन उपचार कक्षमा उपचार गरिएको भए पनि उनलाई बचाउन सम्भव नभएको बताइएको छ ।

यसैगरी डकैती गर्न आएकामध्ये आफूलाई झापा जलथल निवासी भूपेन्द्र गिरी नाम बताउनेको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्थानीय गाउँलेले चारैतिर घेरेर कुटपिट गरिएका ती डकैती समूहका गिरी थर बताउनेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरी निरीक्षक, मेघराज थापाले जानकारी दिनुभयो ।

पम्पमा भएको त्यो घटनामा प्रहरी ढिलो आएको र प्रहरीले स्थानीयवासीसँग रुखो व्यवहार गरेको भन्दै स्थानीयवासीले दुलारी सडकखण्डमा चक्काजामसमेत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्