सन् २०१७ लाई ‘शान्ति वर्ष बनाइने’: राष्ट्रसङ्घ प्रमुख



राष्ट्रसङ्घ (अमेरिका), १७ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिनुभएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको बनाउनु आफ्नो प्राथमिकता रहने बताउनुभएको छ ।

पोर्चुगलका पूर्व प्रधानमन्त्रीको रुपमा अनुभव लिएका गुटेर्रेसले सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने, दक्षिण सुडान, यमन, बुरुन्डी, उत्तर कोरिया र विश्वका अन्य समस्या समाधान गर्ने जिम्मेवारीसहित निवर्तमान राष्ट्रसङ्घ प्रमुख बान कि मुनबाट आइतबारदेखि नै राष्ट्रसङ्घ प्रमुखको जिम्मेवारी लिनुभएको हो ।

सन्देशमा राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले द्वन्द्वमा फसेका करोडौँ जनतालाई कसरी शान्ति प्रक्रियामा ल्याउने भन्ने नै आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।

गुटेर्रेसले भन्नुभएको छ, “कतिपय मुलुकमा द्वन्द्वका कारण सर्वसाधारण तड्पिरहेका छन् । महिला, बालबालिकालगायत अन्य नागरिक मारिएका छन् । घाइते भएका छन् । आफ्नो घरबाट विस्थापित भएका छन् । उनीहरुका सम्पत्तिहरण भएका छन् । युद्ध कसैले जितेका छ्रैनन्, सबै हारेका छन् । त्यसैले शान्ति अपरिहार्य छ ।”

सन् २०१७ लाई स्वागत गर्दै राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले ‘‘नयाँ वर्षमा सबैले शान्ति स्थापनाका लागि प्रण गरौ’’ भन्नुभएको छ ।

विश्वभरका नागरिक, सरकार तथा नेताले हाम्रा मतभेदलाई अन्त्य गर्ने र शान्ति स्थापना गर्ने वर्षका रुपमा सन् २०१७ लाई स्वागत गरौँ, गुटेर्रेसले भन्नुभयो ।

एक दशकसम्म राष्ट्रसङ्घको उच्चआयुक्तका रुपमा आप्रवासी शरणार्थीको अधिकारका लागि सङ्घर्ष गर्नुभएका गुटेर्रेस राष्ट्रसङ्घको नवौँ महासचिवमा गत अक्टुबरमा सर्वसम्मत छानिनु भएको थियो ।

राष्ट्रसङ्घको कूटनीतिज्ञका रुपमा समेत लामो अनुभव भएका महासचिव गुटेर्रेसलाई एक दक्ष राजनीतिक नेताका रुपमा समेत हेरिन्छ । उहाँको कार्यकालमा पछिल्लो समय विभिन्न विवादमा फसेका अन्तर्राष्ट्रिय यस संस्थाले आफ्ना तथा विश्व समुदायका समस्यालाई निदान गरी बढ्नेमा विश्वास गरिएको छ ।

शान्ति हाम्रो लक्ष्य र दिशा निर्देश बन्नुपर्छ, उहाँले भन्नुभयो, “हामीले मानव जगतको गरिमा, आशा, प्रगति र समृद्धिका लागि गर्ने सम्पूर्ण कार्य विश्व शान्तिमा निर्भर छ । साथै शान्ति हामीमा निर्भर छ ।” रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्