सरकारले संशोधन विधेयक टेबुल गर्छः माओवादी प्रवक्ता



नेपाल समाचारपत्र
काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक टेबुल गर्ने बताउनुभएको छ। संशोधन विधेयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने तयारीमा रहेको र सहमति नभए पनि प्रस्ताव अगाडि बढ्ने तयारीमा रहेको बताउनुभएको हो।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रवक्ता भुसालले प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दललाई पनि सहमतिमा अगाडि बढ्ने सोचमा रहेको बताउनुभयो।
आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमति नभए प्रक्रिया अगाडि बढाउने तयारीमा प्रधानमन्त्रीको रहेको बताउँदै प्रवक्ता भुसालले भन्नुभयो,‘प्रधानमन्त्री अहिले पनि मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा हुनुहुन्छ।’

आफ्नो पार्टी प्रतिपक्षी दल र आन्दोलनकारी पक्ष दुवैलाई चिढ्याउने पक्षमा नभएको बताउँदै उहाँले हिजो प्रमुख दल मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर जानुपर्नेमा जोड दिनुभयो। मधेसी मोर्चाले भनेजस्तो अब संशोधन विधेयक फेरि फिर्ता लिएर परिमार्जन नहुने स्पष्ट पार्दे भुसालले भन्नुभयो,‘प्रस्ताव संसदमा दर्ता भइसकेको छ, अब यो फिर्ता गरेर परिमार्जन हुँदैन, प्रक्रियामा गएपछि यसका बारेमा छलफल हुन्छ।’ उहाँले संशोधन विधेयक दुई तिहाइले पारित हुने समेत दाबी गर्नुभयो। एमाले तीन दशकदेखि संसदीय अभ्यास गर्दै आएको पार्टी भएकाले संसद् सुचारु गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्