नेपाल भारतलाई हराउने धुनमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली राष्ट्रिय महिला फुटबल टिमले फेरि एकपटक भारतको प्रतिस्पर्धा गर्न लागेको छ। आज चौथो साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको सामना भारतसँग हुँदै छ। नेपालका लागि उपाधिबाट टाढा हुनुको कारण भारत नै हो। सधैं नेपाल भारतसँग हार्दा नेपाली महिला फुटबलरको राष्ट्रका लागि उपाधि जित्ने सपना साकार हुन सकेको छैन।

त्यसो त नेपाली टोलीका प्रशिक्षक कुमार थापाले आज दिउँसो सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा घरेलु टोली भारतलाई हराउन सक्ने दावी गरेका छन्। गतवर्ष पनि १२औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग ४–० ले हारेको थियो। यसले नेपालले स्वर्ण जित्ने आशा समाप्त भएको थियो।
जारी प्रतियोगितामा नेपालले समूह चरणका तीनै खेल जितेको छ। नेपालले भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको थियो। तर श्रीलंकासँग भने आत्मघाती गोलको सहयोगमा १–० को जित निकालेको थियो नेपालले। नेपालको सही प्रतिस्पर्धा पनि भारतसँगको खेलबाटै हुनेछ। किनकि नेपालको दक्षिण एसियामा बराबरीको टक्कर भनेको भारतसँगै हुने गर्छ।

जितको आशामा रहेका नेपाली प्रशिक्षक थापाले बताए– ‘हामीले लगातार राम्रो प्रदर्शन गरिरहेका छौं र भोलि (सोमबार) को खेल पनि हाम्रै पक्षमा आउनेछ।’ ‘हामी अहिलेसम्म हाम्रो योजनाअनुसार नै छौं र भारतविरुद्ध पनि यस्तै हुनेछ।’

थापाले थपे– ‘भारतको एट्याकिङ राम्रो छ। हामीले उनीहरूलाई रोक्न सक्षम हुनैपर्छ जित्ने हो भने। आशा छ त्यो हुन सक्छ। बंगलादेशले सावित पनि गरेको छ कि भारतलाई रोक्नसक्छ भनेर। जब हामी मैदानमा उत्रनेछौं, हाम्रो रणनीतिअनुसार खेल्नेछौं र नतिजा आफ्नो पक्षमा ल्याउनेछौं।’

उता नेपालबिरुद्धको सेमिफाइनल खेलअघि भारतीय महिला टोलीका मूख्य प्रशिक्षक साजिद दारले नेपालबिरुद्धको अघिल्लो प्रदर्शनलाई गहिरिएर हेर्नुको तुक नहुने बताएका छन्। साजिदले भने– ‘यस प्रतियोगिताका लागि नेपालले पर्याप्त तयारी गरेको छ। यसमा कुनै शंका छैन नेपाल प्रतियोगितामा सबैभन्दा बलियो टोली हो। सधैं हाम्रो कठिन प्रतिद्वन्द्वी पनि बनेको छ।’

प्रतिक्रिया दिनुहोस्