नयाँ वर्षको गन्थन



आइतबार सन् २०१७ को नयाँ वर्षको अवसरमा चिसोमा चिया पिउँदै यो धरहराको वरपर आउने गफाडीहरू निकै बढे। एकथरीले त्यहाँ पुगेर अस्ति शनिबारबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जन्मेको डडेल्धुराको अशिग्राम गाविस साक्षर भएको चर्चा गरे। अर्कोथरी थप्दै थिए– हैट तिनले प्रधानमन्त्री हुँदा चाहिं के गरेछन्? त्यतिबेलै आफ्नो गाविसलाई साक्षर बनाउनुपर्ने होइन? अर्कोथरीले थपे– देशकै अवस्थालाई हेर्नुपरेकाले नभ्याएर होला नि त। फेरि तेस्रो पक्षले भनिहाल्यो– कहाँ देशलाई हेर्दा नभ्याएर हुन्छ। तिनले आफू प्रधानमन्त्री भएकै बेलामा एकथरीलाई जंगल पठाएर हतियारको होडबाजी गराए। देश हेर्नेभन्दा पनि देश बिगार्नेतिर ध्यान दिए।

त्यो विवाद त्यत्तिकै छोडेर उनीहरू साँच्ची यहाँ कुन नेताको गाउँको अवस्था के छ भनेर अब जानकारी लिनुपर्यो भन्न थाले। उनीहरू त्यही गाउँकै आधारमा नेताको मूल्यांकन गर्नुपर्यो पनि भन्दै थिए। विश्वभरि मनाइने नयाँ वर्षको दिन पनि यस्ता गन्थन सुनेर के बस्नु भनेर धरहराले अन्यत्रै दूरबिन मोड्नु ठीक ठान्यो। यो धरहराले ठीक गर्यो नि होइन पाठकबृन्द !

प्रतिक्रिया दिनुहोस्