सन्तानको गल्तीमा सार्वजनिक माफी माग्ने परम्परा



टोक्यो, (एजेन्सी)
जापानमा माफी माग्ने त्यहाँको पुरानो परम्पराको हिस्सा हो। जापानीहरू आफ्नो गल्तीका लागि मात्र नभई आफ्ना वयस्क सन्तानको गल्तीका लागि पनि सार्वजनिक स्थलहरूमा माफी माग्छन्। उनीहरू आफ्नो सन्तानको गल्तीमा आफ्नो पनि कमजारी रहेको ठान्छन्।

सन् २०१६ मा आफ्ना सन्तानका गल्तीका लागि माफी माग्ने थुप्रै घटनाहरू देखिए। जापानमा माफीको सामूहिक संस्कृति कुनै नौलो कुरा होइन। यहाँ यसको जरा अत्यन्त गहिरो छ। यी प्रक्रियालाई माफिनामा प्रेस सम्मेलन भनेर चिनिन्छ।
यस प्रकारको कार्यक्रममा माफी माग्नेले सबैको अगाडि आएर शिर झुकाउँदै क्षमाप्रार्थीको बयान पढ्छन् वा भन्छन्। सबैको अगाडि ऊ तलसम्म झुकेरै ती सबै भनिरहेका हुन्छन्। उनीहरू आफ्ना बच्चाले गरेका अपराध तथा गल्तीका लागि आफैं आएर माफी मागिरहेका हुन्छन्। उनीहरू आफ्ना बच्चाको जवाफदेहिता आफै लिन्छन्। मातापिता जतिसुकै वृद्ध भए पनि यो परम्परालाई केही असर पार्दैन।

यसै वर्ष अगस्ट महिनामा अभिनेत्री अत्सुको तकाहताले आफ्नो २२ वर्षका छोराका लागि अत्यन्तै भावुक भएर माफी मागेकी थिइन्। उनलाई यौन दुव्र्यवहारको मामिलामा पक्राउ गरिएको थियो। पछि उनलाई बिनाआरोप रिहा गरिएको थियो। तर कानुनी प्रक्रिया शुरू हुनुअगाडि नै ती युवकका आमा सार्वजनिक कार्यक्रममा सबैको अगाडि आइन् र आफ्नो छोराको व्यवहारको आंशिक जिम्मेवारी आफैले लिइन्।

सन् २०१३ मा पनि टिभी कार्यक्रम प्रस्तोता मिनो मोन्ताले आफ्नो ३१ वर्षीय छोराका लागि माफी मागेकी थिइन्। छोराको कर्तुतका कारण मिनोले आफ्नो सोबाट समेत राजीनामा दिएकी थिइन्। उनका छोरालाई चोरीको मामिलामा पक्राउ गरिएको थियो। मिनोले आफ्नो प्रेस सम्मेलनमा भनेका थिए– ‘एकजना अभिभावकको नाताले म यसको नैतिक जिम्मेवारी लिन्छु।’

यद्यपि यसको अर्थ यो परम्परा मात्र प्रतिष्ठित व्यक्तिहरूमा मात्र छ भन्ने होइन। जापानमा गत वर्ष जुलाईमा मानसिक रुपमा विक्षिप्त एक व्यक्तिले १९ जनालाई चक्कु प्रहार गरी आक्रमण गरेका थिए। आक्रमणकारीका पिता सबैको अगाडि सार्वजनिक रुपमा आए र उनले सार्वजनिक रुपमा माफी मागे।

अकिहाबरा सपिङ स्ट्रिटमा सन् २००८ मा २५ वर्षीय एक जना व्यक्तिले ७ जनाको हत्या गरेका थिए। ती व्यक्तिका आमाबुबाले पीडितहरूको घरघरमा गएर माफी मागेका थिए।

उनीहरुले माफी माग्ने क्रममा भनेका थिए– ‘मेरो छोराले संगीन अपराध गरेको छ। यसमा मारिएका तथा घाइते भएकाहरूसँग म ह्दयदेखि माफी माग्छु।’ यस क्रममा उनले पीडितहरूसँग झुकेर माफी मागेका थिए।

जापानमा आमाबुबाका तर्फबाट माफी माग्ने परम्परा अपराधको जिम्मेवारी लिने संस्कार हो। यसको जग सामुराइ कालखण्डसँग जोडिएको छ। जापानमा १५औं र १६औं शताब्दीमा अपराधीका परिवारलाई सजाय दिइने गरिन्थ्यो। सामुराइ आफ्नो राज्यमा अपराध गर्ने परिवारका सदस्यलाई समेत सजाय दिन आदेश दिन्थे।

यसको पछाडि अपराधको मामिलामा सामूहिक जिम्मेवारी लिनुपर्छ भन्ने आशय थियो। यो परम्परा १७औं र १९औं शताब्दीमा पनि जारी रह्यो। त्यतिबेला पाँचवटा छिमेकी घरको समूहलाई एउटा इकाइका रुपमा लिने गरिन्थ्यो। यो इकाइ नै कर तथा अपराधका लागि जिम्मेवार हुन्थ्यो। यदि कसैले अपराध गर्यो भने त्यो युनिटलाई नै सजाय दिइन्थ्यो। यद्यपि इदो काल सन् १८६८ मा अन्त्य भएपछि यो कानुन पनि अन्त्य भयो। यद्यपि यो परम्परा विभिन्न स्वरुपमा अस्तित्वमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्