अवैध मृगौला धन्दा संलग्नलाई सजाय



बेइजिङ, (एजेन्सी)
अवैध मृगौला प्रत्यारोपण कार्यमा संलग्न रहेको अभियोगमा चीनमा १६ जना व्यक्तिलाई जनही अधिकतम पाँच वर्ष लामो कारावास सजाय तोकिएको सरकारी समाचार निकाय सिन्ह्वाले आइताबार जनाएको छ। सिन्ह्वाका अनुसार अधिकांश स्वास्थ्य क्षेत्रमा कार्यरत तिनीहरूले इन्टरनेटमार्फत नै मृगौला बेच्ने र किन्ने व्यक्तिहरू खोज्ने गरेका थिए।

सजाय पाउनेहरूमध्ये दुई जना डाक्टर र एक जना एनास्थेस्टी रहेको र तिनीहरूले गोप्य ढंगले यो अवैध कारोबार गर्दै आएको अदालतले जनाएको छ। चीनमा मृगौला दाताहरूको अभावको कारण कालो बजारमा निकै महँगो दाममा यसको किनबेच हुने गरेको छ। चीनको सान्डोङ प्रान्तको जिनान शहरस्थित लिसिया जिल्ला अदालतले रोगीहरूलाई मृगौला प्रत्यारोपणका लागि कम्तीमा ५७ हजार अमेरिकी डलर माग्ने गरिएको जनाएको छ। बिरामीहरूलाई मृगौल प्रत्यारोपणका लागि बढ्दो मृगौलाको माग पूरा गर्न लामो समयदेखि चीन सरकारले मृत्युदण्ड दिइएका व्यक्तिहरूको अंग आपूर्ति गर्दै आइरहेको थियो।
तर अन्तर्राष्ट्रिय समुदायको कडा आलोचनाको कारण चीनले यो कार्य सन् २०१५ देखि नै बन्द गरिएको जनाइसकेको छ। सरकारले नयाँ कानुनी दाताहरूको अभिलेख राख्नमा केही हदसम्म सफलता पनि पाएकै हो। तर मृगौलाको माग दिन प्रतिदिन बढ्दै गइरहेको बताइएको छ। विश्वकै तुलनामा चीनमा मृगौला दाताको संख्या सबैभन्दा न्यून रहेको छ।
दशलाख व्यक्तिका लागि दाताको संख्या केवल शून्य दशमलव छ मात्र रहेको छ। यो संख्या स्पेनमा ३७ रहेको छ। अधिकांश चिनियाँहरू मानव मृत शरीर निकै पवित्र हुने भएकाले त्यसैलाई कतै पनि नचलाईकन अन्त्येष्टि गरिनुपर्दछ भन्ने धारणा राख्ने गरेका छन्। यसबाट आफ्ना पुर्खाको आत्माप्रति सम्मान व्यक्त हुने तिनीहरूको विश्वास रहेको छ। सन् २००७ देखि चीनमा मानव अंगको बेचबिखनमाथि प्रतिबन्ध लगाइएको हो।

प्रतिक्रिया दिनुहोस्