नेवा छेँमा ५ कलाकारका सिर्जना



पाँचजना कलाकारका कलाकृतिको प्रदर्शनी पाटनस्थित नेवा छेँ ग्यालरीमा चलिरहेको छ। तरंग शीर्षकमा गरिएको प्रदर्शनीमा कलाकार कृष्णगोपाल श्रेष्ठ, सरिता डंगोल, सन्ध्या सिलवाल, सत्यशिला कसजू, सञ्जित महर्जनका कलाकृति राखिएको छ।
क्लासिक ग्यालरीको आयोजनामा भएको प्रदर्शनीमा पाँच कलाकारले बनाएका नेपाली परिवेशका विविध विषय समेटिएका कलाकृति राखिएका छन्। ज्योति गु्रपका निर्देशक सौरभ ज्योतिले एक समारोहका बीच प्रदर्शनीको शुभारम्भ गर्दै कला र संस्कृतिले नेपालीलाई जीवन्त बनाएको बताए।कार्यक्रममा कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलामा नयाँ चिन्तन र परिवेशलाई कलाकारले समेट्न सकेको बताए। प्रदर्शनीमा राखिएका कलामा नेपालको सन्दर्भका साथै कलाकारका सिर्जनशील भावनालाई समेटिएको सहभागी कलाकार कृष्णगोपाल श्रेष्ठले बताए।‘समाजका सांस्कृतिक तथा सामाजिक परिवेशजन्य विषयलाई रचनात्मक रूपमा क्यानभासमा समेटेर कलाकारले कलाकृति बनाएका छन्। यी कलाका चिन्तन र शैलीले नेपाली कलाको समसामयिक सन्दर्भलाई समेत कलात्मक रूपमा समेट्न सकेको अनुभूत मैले गरेँ’ –उनले भने।

नेपालमा १० दिनसम्म चल्ने प्रदर्शनीपश्चात भारतको भेन्ट्कटपा आर्ट ग्यालरी बेंग्लोरमा सन १६ जनवरी २०१७ देखि २० जनवरीसम्म प्रर्दशनीमा राखिनेछ। भारतको कलामित्र फाउन्डेसनको आयोजनामा हुने सो प्रदर्शनीको उद्देश्य सधैं समाज, मानव विचार तथा इतिहासलाई प्रतिनिधित्व गर्नु रहेको छ।

प्रदर्शनीमा स्थिर विषयवस्तुलाई कलात्मक रूपमा क्यानभासमा उतार्दै कलाकार सरिता डंगोलले खुर्सानी बिम्बमा आफूलाई चिनाउन खोजेकी छन्। समयको गतिसँगै बदलाव आउने विभिन्न कारणले गर्दा होला उनका चित्रमा रहेका खुर्सानीमा पनि रङको भिन्नता पाइन्छ।

कलाकार सन्ध्या सिलवालले जीवन र जगत्को सम्बन्ध एक आपसमा परनिर्भरताका साथ चलिरहने कुरालाई आकर्षक रूपमा क्यानभासमा प्रस्तुत गरेकी छिन्। उनका कलामा अस्तित्व र भावनाका विभिन्न पक्षका साथै जीवनमा सुख र दुःख पनि दिन र रात जस्तै एकपछि अर्को आउने क्रम निरन्तर चलिरहने अटुट र वास्तविक चक्रलाई दर्शाएको पाइन्छ। उज्यालो तथा रापिलो रङको प्रयोग उनका चित्रमा गरिएको छ।

नेपाली संस्कृति र सम्पदामा तँलिका चलाउँदै आएका कलाकार कृष्णगोपाल श्रेष्ठले संस्कृति, सम्पदा र धार्मिक विषयलाई क्यानभासमा उतारेका छन्। उनले २०७२ सालमा गएको भूकम्प र त्यसले ल्याएको त्रासदीपूर्ण अवस्थालाई निकै कलात्मक रूपमा क्यानभासमा आफ्ना भावना प्रस्तुत गरेका छन्। भूकम्पले नेपालका पुरातात्त्विक सम्पदामा पुर्याएको क्षतिलाई निकै मिहीन र आकर्षक रूपमा प्रस्तुत गरेका छन्।

मानिसका खुसी र दुःखका बिम्बलाई क्यानभासमा उतारेर अर्का कलाकार संजित महर्जनले मानवीय मनोदशालाई अभिव्यक्त गरेका छन्। कुनै एउटा विषयमा मात्र केन्द्रित नरही उनले विभिन्न फरक विचार तथा भावनालाई क्यानभासमा उतारेका छन्।

समय, परिवर्तन र अनित्यलाई तँलिकाको सपाट प्रयोगमार्फत कलाकार सत्यशिला कसजूले आफ्ना भावना प्रस्तुत गरेकी छन्। परिवर्तनशील परिवेशलाई उनले बिम्बात्मक रूपमा चित्रण गरेकी छन्। प्रदर्शनी पुस २६ सम्म जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्