तुर्केली रात्रिक्लबमा गोली चल्दा ३९ मारिए



इस्तानवुल, (एजेन्सी) टर्कीको इस्तानबुलस्थित एक भिडयुक्त रात्रिक्लबमा आइतबार बिहान सबेरै नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव मनाउँदै गरेका मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाएर फरार भएका एक आक्रमणकारी पुरुषको व्यापक खोजी हुँदै गरेको सुरक्षाकर्मीले जनाएको छ। गृहमन्त्री सुलेमान सोयलुले यस हमलामा कम्तीमा ३९ जनाको ज्यान गएको र अन्य कम्तीमा ६९ जना घाइते भएको बताएका छन्। मारिनेमध्ये पाँच जना तुर्केली नागरिकको सनाखत भएको छ। यस घटनामा कम्तीमा १५ जना विदेशी मारिएको तर तिनीहरूको राष्ट्रियता अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

अस्पतालमा भर्ना गरिएका ६९ मध्ये ४ जनाको स्वास्थ्यस्थिति निकै नाजुक रहेको बताइएको छ। एउटा निजी एनटिभी टेलिभिजनले यस आक्रमणमा एक जनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको जनाएको छ।

तर आइतबार आयोजित पत्रकार सम्मेलनमा सोयलुले आक्रमणमा एकै व्यक्तिको मात्र संलग्नता रहेको र रात्रिक्लबमा प्रवेश गर्दा ज्याकेट र पाइन्ट लगाएर आएका उनले भाग्नबेला लुगा फेरेको विश्वास गरिएको बताएका छन्। उनले शान्ता क्लसको पोसाक लगाएको भन्ने हल्लाको भने अभैm पुष्टि हुन सकेको छैन।

इस्तानबुलका गभर्नर भासिप साहिनले स्थानीय र विदेशी पर्यटकहरू माझ निकै लोकप्रिय रेइना रात्रिक्लब लामो ब्यारेलयुक्त हतियार लिएर आएका ती व्यक्तिले क्लबबाहिर एक जना प्रहरी र अर्को एक जना सर्वसाधारणको हत्या गरेर प्रवेश गरेपछि जथाभावी गोली हान्न थालेको बताएका छन्।

आक्रमणका बेला रात्रिक्लबभित्र ४ सयदेखि ५ सय जना पार्टी मनाउने व्यक्ति जम्मा भएको अनुमान गरिएको छ। साहिनले उनले क्रूरतापूर्वक गोली हान्दा नयाँ वर्ष मनाउन जम्मा भएका निर्दोष व्यक्तिहरू मारिएको बताएका छन्।
तुर्केली राष्ट्रपति रिसेप तायिप एर्दोगानले एक विज्ञप्ति जारी गर्दै यस आतंककारी आक्रमणको कडा शब्दमा आलोचना गर्दै टर्की आतंकवादविरुद्ध निरन्तर लड्ने र आफ्ना जनताको सुरक्षा र शान्तिका लागि आवश्यक काम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएका छन्। अमेरिकी विदेश विभागका उपप्रवक्ता मार्क टोनरले एक विज्ञप्तिमार्फत बताएका छन्– ‘इस्तानबुलको रात्रिक्लबमा भएको आतंककारी आक्रमणको अमेरिका कडा आलोचना गर्दछ। यससम्बन्धी अनुसन्धानभरि तुर्केली अधिकारीहरूसँग हाम्रो सम्पर्क जारी रहनेछ।’

‘हामी नेटो गठबन्धनका सदस्य टर्कीको आतंकवादविरुद्धको युद्धमा ऐक्यबद्धता जनाउँछौं।’ –रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस घटनालाई लिएर एर्दोगानलाई टेलिग्राममार्फत समवेदना सन्देश पठाएको क्रेमलिनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्