माघी आइल रे



चन्द्रौटा (कपिलवस्तु), (नेस)। थारु समुदायको नयाँ वर्षका रूपमा मानिने माघी नजिकिँदै जाँदा यतिबेला थारु समुदायमा विभिन्न भाकामा माघीका गीत गुञ्जिन थालेका छन्।

गीतको माध्यमबाट थारु कलाकारहरु थारु भाषा, कला, संस्कृति र भेषभुषाको जगेर्नामा जुटेका हुन्। कपिलवस्तुको भृकुटी नगरपालिका बरकुलपुरका थारु गायक एवं संचारकर्मी श्रीनिवास चौधरीले माघीको आगमनसँगै नयाँ गीत बजारमा ल्याएका छन्। आदिबासी थारु हमरे धर्तीपुत्र तराई के जस्ता दुई सय बढी थारु, भोजपुरी र नेपाली भाकामा गीत गाएर स्रोताका मन जित्न सफल चौधरीले अहिले माघीलाई लक्षित गरी आइल रे आइल माघी बोलको थारु गीत सार्वजनिक गरेका छन्।

यो गीत अहिले थारु समुदायका युवायुवतीका ओठमा गुञ्जायमान छ भने सामाजिक सञ्जाल युट्युब, फेसबुकदेखि स्थानीय रेडियो, टेलिभिजनमा समेत गुञ्जिन थालेको छ। हरेक युवायुवतीका मोबाइलमा समेत यो गीतले स्थान पाएको छ। थारु कवि बमबहादुर चौधरीको शब्द रहेको गीतमा श्रीनिवासलाई नव गायिका अनु चौधरीले साथ दिएकी छन्। गीतमा विकास चौधरीको संगीत र महाराजा थापाको संयोजन रहेको छ।

प्रतिक्रिया दिनुहोस्