व्यक्ति व्यक्तिको पैसा उठाएर विद्यालय



सन्तोष अधिकारी, गोरखा । भूकम्पले ध्वस्त श्रीनाथकोट ५, उपल्लो गोहोरेको श्रीनाथ निम्न माध्यामिक विद्यालयको भवन पुननिर्माण भएको छ ।

स्थानीय परशुराम पाण्डेको अगुवाईमा विभिन्न क्षेत्रमा कार्यरत ब्यापारी, ब्यवसायी तथा साथीभाईको समन्वयमा रकम संकलन गरेर विद्यालय पुननिर्माण भएको हो । विभिन्न क्षेत्रका मानिसहरुले संकलन गरेको ३५ लाख ८३ हजार पाँचसय रुपैँयाको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यूवराज पाण्डेले बताए ।

शेरबहादुर परियारले २८ लाख ३२ हजार छ सय १११ रुपैँया, परशुराम पाण्डेले ब्यक्तिगत र उनी मार्फत विभिन्न क्षेत्रबाट संकलन भएको पाँचलाख ४१ हजार ४५ रुपैँया, उषा राजनबाट एक लाख, तीर्थ भट्टबाट २५ हजार, सुरेश ढकाल, २५ हजार, यूवराज पाण्डे, १० हजार, हरिप्रसाद ढकाल पाँच हजार एकसय पाँच, रमेश चन्द्र ढकाल पाँच हजार, तोयानाथ ढकाल पाँच हजार, रामचन्द्र ढकाल पाँच हजार, रामचन्द्र पाण्डे दुईहजार पाँच, बलभद्र ढकाल दुई हजार, सुरक्षा भट्टले एक हजार पाँचसय, ऋषिराम ढकालले एक हजार एक सय रुपैँया ब्यक्तिगत सहयोग गरेका हुन । भूकम्प पछि पुननिर्माण भएको उक्त भवनको आइतबार जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले उद्घाटन तथा विद्यालयलाई भवन हस्तान्तरण गरेको स्थानीय समाजसेवी विनोद पाण्डेले जानकारी दिए ।

‘आफ्ना छोराछोरी काठमाडौँमा जस्तो विद्यालयमा पढिरहेका छन्, गाउँका भाई बहिनीहरुले पनि त्यस्तै वातावरणमा त्यस्तै विद्यालयमा पढुन् भन्ने उदेश्यले सहयोग जुटाउने अभियान चलाएँ’ भवन निर्माणमा सहयोग जुटाउने अगुवा परशुराम पाण्डेले भने ‘मेरो सपना भनेको आफु जन्मेका ठाउँका सबै बाबुनानी शिक्षित हुन भन्ने हो । त्यसैको लागि सहयोग जुटाएर विद्यालय बनाएँ । अब विद्यालयमा विदेशी स्वयम् सेवक शिक्षकहरु पनि ल्याउने तयारी थालेको छु ।’ विद्यालय पुननिर्माणका लागि जिल्ला शिक्षा कार्यालय गोरखाले पनि आठ लाख रुपैँया सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्