निर्माणका क्रममा नहर पुरिए भन्दै लोकमार्गको काम ठप्प



(दुर्गाप्रसाद शर्मा)/ पर्वत, १७ पुस ।
खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दाहरु आन्दोलित बनेपछि लोकमार्गको निर्माणकार्य ठप्प बनेको छ ।

देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा गाविसको ५ नम्वर वडामा सिंचाई गर्नका लागि निर्मित फलेवास सिंचाई आयोजनाको झण्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको छ । भत्किएको नहर पुर्न्निर्माणका लागि पटक पटक माग गर्दापनि कुनै सुनुवाई नभएपछि शनिवार विहानदेखि निर्माणकार्य ठप्प पारेका हुन् ।

आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिंचाई गर्नुपर्ने बेलामा सिंचाई नहर भत्किएपछि उनिहरु चिन्तित बनेका छन् । झण्डै २ सय ५० हेक्टर क्षेत्रफलमा सिंचाई गर्न नपाएपछि उनिहरुले निर्माणाधिन लोकमार्गको काम ठप्प पारेका छन् । नहरवाट पिडित २ सय भन्दा बढि घरधुरीले लोकमार्गमा नारावाजी गर्दै काममा अवरोध गरेको स्थानिय भोलानाथ भुसालले जानकारी दिनुभयो । उहाँका अुनसार सडक मर्मतका लागि सम्वन्धित ठेकेदार र जिल्ला सिंचाई कार्यालयमा खबर गरेपनि कुनै सुनुवाई नभएपछि आन्दोलित हुनुपरेको हो ।

हिउँदे बालीनाली सिंचाई गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषकहरु चिन्तित बनेका छन् । उनिहरुले तत्काल नहर मर्मतका लागि माग समेत गरेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनिहरुले बताएका छन् । विकासका नाममा सडक निर्माण हुनु आवश्यक छ तर कृषकहरुलाई हानी पु¥याउनेगरी नहरनै भत्काएर गरिएकोले आफुहरु आन्दोलित बन्नुपरेको भुसालले जानकारी दिनुभयो ।

बहुचर्चित उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्राक ओपन गर्ने काम भैरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्रयाक खोल्ने काम भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रलाई धानको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्