जनवरी १ लाई नेपालीटोपी दिवसको रुपमा मनाइयो



काठमाडौं  (नेस) जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ ।

अभियानले बिगत ३ बर्ष देखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन अन्तराष्ट्रिय टोपी दिवस मनाउदै आएको छ । चौथो अन्र्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गरेको थियो भने त्यहाँबाट नयाँ बानेश्वर पुगेर कोणसभा गरेको थियो ।

कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता थियो ।  युवाहरु मात्र नभई युवतीहरु समेत नेपाली टोपीमा सजिएर सहभागी भएका थिए । यस्ता कार्यक्रमले लोप हुने अवस्थामा पुगेको राष्ट्रियतालाई उजागर गर्न प्रेरित गर्ने सहभागी कलाकार शुभेक्षा थापाले बताइन् ।

प्रभातफेरिमा सहभागीहरुले ‘नेपाली मन, नेपाली पन, नेपाली टोपी हाम्रो शान’, ‘नेपाली टोपीः मेरो गौरव, मेरो पहिचान’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए । अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले टोपी दिवसको सुरुआत भएको अभियन्ताहरुले बताएका छन् ।

यस अभियानमा संयोजक घनश्याम श्रेष्ठ छन् भने अन्य अभियन्ताहरुमा  रामजी बलामी, जनार्जन पौडेल, ज्ञानमणि नेपाल कालोटोपी, मोहमद अजमत अलि, शिव धिताल, राजेश खत्री, लक्ष्मण लम्साल, बसन्त हुमागाई, जनक कार्की लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्