दलहरूले स्वाधीनतालाई भजाउने भाँडो बनाएः वैद्य



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सत्तामा रहेका दलहरूले राष्ट्रिय स्वाधीनताको विषयलाई भजाएर खाने भाँडोको रूपमा प्रयोग गर्दै आएको बताउनुभएको छ। नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी र नेकपा मसालले संयुक्त रूपमा राजधानीमा आयोजना गरेको जलस्रोत माथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रियामा सत्तासीन गलत प्रवृत्तिका कारण भारतले जलस्रोतमाथि हस्तक्षेप गरेको उहाँले शनिबार बताउनुभएको हो। उहाँले भारततीय विस्तारवादका कारण जलस्रोतमाथि ठाडो हस्तक्षप हुँदै आएको भन्दै राष्ट्रिय मुक्तीको आन्दोलन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले भन्नुभयो– ‘माथिल्लो कर्णाली, अरूण–३, मस्र्याङ्दी, अपर कर्णालीलगायतका परियोजनामा भारतले हस्तक्षेप गरेको छ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले बा≈य हस्तक्षेप बिरुद्ध सम्पूर्ण शक्तिहरू एक हुनुपर्ने बताउनुभयो।

राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले प्राकृतिक सम्पदामाथि दोहन बढ्दै गएको भन्दै जल, जंगल र जमिनको उपयोग नेपाली आफैंले गर्न पाउनुपर्ने बताउनुभयो। यस्तै जलस्रोतविद् दीपक ज्ञवालीले नेपाललाई उपनिवेश बनाउने तरिकाले जलस्रोतमाथि हस्तक्षेप बढ्दै गएको भन्दै बिजुली र पानीलाई रणनीतिक स्रोतका रूपमा लिन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। यस्तै, जलस्रोतविज्ञ रत्नसंसार श्रेष्ठले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरूले राष्ट्रियताका कुरा लिए पनि सत्तामा पुगि सकेपछि राष्ट्रियता भुल्ने गरेको बताउनुभयो। यस्तै, जलस्रोत जानकार रतन भण्डारीले भारतले नेपालको पानी कब्जा गरेको भन्दै समयमै नेपाली सचेत हुने समय आएको बताउनुभयो। राष्ट्रियताका विषयमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी र नेकपा मसालले केही दिनअघि कार्यगत एकता गरी आन्दोलनको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्