४२ सम्पदा फटाफट तयार हुँदै



ईश्वरराज ढकाल, काठमाडौं
पुरातत्त्व विभागले ४२ वटा सम्पदाको पुनर्निर्माणको काम शुरू गरेको छ। भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका १६ जिल्लाका ५ सय ५७ सम्पदामध्ये ४२ वटाको पुनर्निर्माण शुरू गरेको हो। भूकम्प गएको डेढ वर्षसम्म पनि सम्पदा पुनर्निर्माण नभएकामा आलोचना खेपिरहेको विभागले पुनर्निर्माण र संरक्षण गर्ने कामलाई तीव्रता दिएको हो। युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रका १३ सम्पदाको पुनर्निर्माण शुरू गरेको हो।

विभागले एक, दुई र बहुवर्षीय योजनाअन्तर्गत राजधानीसहित देशका सम्पदाहरूको पुनर्निर्माण शुरू गरेको हो। विभागले गत वर्ष ४८ र यो वर्ष ३५ गरी ८३ वटा सम्पदा पुनर्निर्माण गर्न टेन्डर आ≈वान गरिसकेको जनाएको छ। विभागका महानिर्देशक भेषनारायण दाहालले यो वर्षसम्म १ सय ३२ वटा सम्पदाहरूको पुनर्निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले धमाधम काम शुरू गरेका छौं, पाँच वर्षभित्र अधिकांश सम्पदा पुनर्निर्माण भइसक्नेछन्।’

विभागका प्रवक्ता रामबहादुर कँुवरले हालसम्म ४२ वटा सम्पदाको काम शुरू भइसकेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘पुनर्निर्माणको क्रम जारी छ, केही दिनमै टेन्डर भएका सम्पदाहरूको पुनर्निर्माण हुनेछन्। काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणको टेन्डर आ≈वान गरिसकेको छ। वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठक, कृष्ण मन्दिर, देगु तलेजु, गोपीनाथ, जगन्नाथ, शिव, कागेश्वरी, तलेजु भवानी, माजुदेग, दशअवतार, लक्ष्मीनारायणको पुनर्निर्माण प्रक्रिया शुरू भइसकेको छ।

हनुमानढोका दरबार कार्यालयका प्रमुख करुण नकर्मीले विश्वसम्पदा सूचीमा रहेका अधिकांश सम्पदाहरूको पुनर्निर्माण कार्य अघि बढेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘चीन सरकारको सहयोगमा नौतल्ले दरबारको पुनर्निर्माण कार्य आरम्भ भइसकेको छ, अन्य सम्पदाहरूको पुनर्निर्माण प्रक्रिया अघि बढाएका छौं।’ विभागले करिब १ अर्ब रुपियाँँ लागतमा पुनर्निर्माण कार्य शुरू गरेको छ। ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक पर्ने रकम उपलब्ध गराउने जनाएपछि अधिकांश सम्पदाहरूको टेन्डर प्रक्रिया शुरू गरेका हौं।’ –विभागका महानिर्देशक दाहालले भन्नुभयो।

पुरातत्त्व विभागको क्षति मूल्यांकन प्रतिवेदनअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, गोर्खा, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत अति प्रभावित जिल्लाका १ सय ४० वटा सम्पदा पूर्णरूपमा ध्वस्त भएका थिए।

सबैभन्दा धेरै काठमाडौं उपत्यकाका विश्वसम्पदा सूचीमा सूचीकृत स्मारकहरूमा क्षति पुगेको थियो। त्यसमा पनि हनुमानढोका दरबार क्षेत्रका करिब ९० प्रतिशत स्मारकहरू केही पूर्णरूपले र केही आंशिकरूपले क्षतिग्रस्त भएका थिए।
पुनर्निर्माण प्राधिकरणको योजनाको आधारमा विभागले ड्रइङ डिजाइन सम्पन्न गरिसकेको सम्पदाहरूको निर्माण प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ। हालसम्म बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ र आनन्दकुटी विहार श्रीलंका सरकारको सहयोगमा निर्माण शुरू भएको छ। भूकम्पले काठमाडौंका ४३ वटा सम्पदा पूर्णरूपमा ध्वस्त, ५० मा आंशिक र १ सय ४७ केही भाग क्षतिग्रस्त गरी २ सय ४१ सम्पदामा भूकम्पले पूर्णरूपमा प्रभावित पारेको थियो। ललितपुरको १३ सम्पदा पूर्णरूपमा ध्वस्त, २० वटा आंशिक र ८७ वटा क्षतिग्रस्त छन्। भक्तपुरको १ सय ३० वटा सम्पदालाई भूकम्पले असर पुर्याएको थियो।

विभागका अनुसार भूकम्पले १ सय ४० वटा सम्पदा पूर्णरूपमा ध्वस्त, ९५ वटामा आंशिक क्षति र अन्य सम्पदाको केही भाग क्षतिग्रस्त भएको तथ्याङ्क छ। विभागका प्रवक्ता रामबहादुर कुँवरले विभागले प्राथमिकताको आधारमा सम्पदाहरूको पुनर्निर्माण गर्दै जाने बताउनुभयो। सरकारले सम्पदा पुनर्निर्माण गर्न एक अर्ब रुपियाँ निकासा दिने उल्लेख भएअनुसार हालसम्म अर्थले ५० करोड रुपियाँ विनियोजन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्