संशोधन पास गराउने कांग्रेस–मोर्चा सहमति ढुक्क हुनुस् पास हुन्छः देउवा



बीपी साह, काठमाडौं
त्तारूढ प्रमुख घटक नेपाली कांग्रेस र संविधान संशोधनको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक परिमार्जनसहित संसद्मा पेस गर्ने सहमति भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ दललाई पेलेरै भए पनि संशोधन विधेयक सदनमा पेस गर्ने सहमति कांग्रेस र मोर्चाबीच भएको हो। सत्तारूढ घटकले प्रतिपक्षीलाई पेलेरै जाने तयारीअनुसार पुस १८ गतेको संसद् बैठकमा संशोधन विधेयक टेबुल गर्ने सम्भावना बढेको छ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा शुक्रबार साँझ कांग्रेस र मोर्चाका शीर्ष नेताहरूबीच भएको छलफलमा संशोधन विधेयक पेस गर्ने र पास गराउने सहमति भएको मोर्चाका नेता महेन्द्र राय यादवले नेपाल समाचारपत्रलाई बताउनुभयो। ‘संविधान संशोधन विधेयक सदनमा पेस गर्ने प्रतिबद्धता देउवाजीले व्यक्त गर्नुभएको छ’, यादवले भन्नुभयो– ‘विधेयकमा केही हेरफेर गरेर पेस गर्ने सहमति भएको छ। विधेयक पास गर्ने गरी सदनमा पेस हुनेछ।’

कां्रग्रेस सभापति शेरबहादुर देउवालाई उद्धृत गर्दै यादवले भन्नुभयो– ‘तपार्इंहरू ढुक्क भएर सहयोग गर्नुस्। कांग्रेसले जसरी भए पनि संविधान संशोधन विधेयक पास गराउनेछ। प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल भइरहेको छ। उहाँहरू पनि संसदीय प्रक्रियामै आउनुपर्छ। बरु तपाईंहरू प्रधानमन्त्रीसँग पनि छलफल गर्नुस्।’ देउवाले संविधान संशोधन विधेयक पास गराएर मात्रै निर्वाचनमा जाने बताउँदै निर्वाचन विधेयक पनि सँगै लगिने बैठकमा जानकारी गराउनुभएको थियो।

संशोधनको विषयमा कांग्रेस एक ढिक्का रहेको दाबी गर्दै देउवाले नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्न मधेसी मोर्चालाई आग्रह गरेको बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनीष सुमनले नेपाल समाचारपत्रलाई बताउनुभयो। बैठकमा स्थानीय तहको विषयमा पनि छलफल भएको बताउँदै अहिलेको प्रतिवेदन एमालेको प्रस्तावअनुसार भएको देउवाले दाबी गरेको सुमनले बताउनुभयो। अहिलेको प्रतिवेदन स्वीकार गर्न सकिने अवस्थाको नरहेको देउवाको भनाइ रहेको सुमनले बताउनुभयो।

यता नेपाल समाचारपत्रसँग संक्षिप्त प्रतिक्रिया दिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संशोधन विधेयक पास गराउने कि फेल गराउने भन्ने प्रमुख जिम्मेवारी नेपाली कांग्रेसको काँधमा रहेको बताउनुभएको छ। उहाँले संशोधन विधेयक फेल भएको खण्डमा मोर्चा पुनः आन्दोलन गर्न बाध्य हुने प्रतिक्रिया दिनुभयो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायतका नेताहरू थिए भने मोर्चाको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय, अनिल झा, लक्ष्मण लाल कर्ण, रामसहाय यादवसहितका नेताहरू सहभागी थिए।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज (शनिबार) छलफल हुने भएको छ। संविधान संशोधन विधेयकलाई तत्कालै टेबुल गर्न माग गर्दै मोर्चाका नेताहरूले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिन लागेको हो। मोर्चाका नेता समुनका अनुसार शनिबार दिउँसो प्रधानमन्त्रीलाई भेटेर मोर्चाले छलफल गर्नेछ। ‘कांग्रेससँग जसरी छलफल भयो त्यसरी नै माओवादीसँग छलफल हुन्छ। संशोधन विधेयक तत्काल टेबुल गर्न दबाब दिन्छौं’ सुमनले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्