अमेरिकी नागरिकलाई नेपाली पेन्सन !



दीपक रिजाल, काठमाडौं
अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका प्रहरी उपरीक्षक प्रमोद खरेलका बारेमा समाचार प्रकाशित भएपछि उनले राजीनामा दिए।

सरकारले एक वर्षअघि नै विदेशी नागरिकता तथा पीआर लिएका कर्मचारीलाई जागिर छोड्न वा नागरिकता तथा पीआर त्याग्न निर्देशन दिएको भए पनि एसपी खरेल भने चुपचाप बसेका थिए।

आगामी फागुन ११ गते सपरिवार अमेरिका जाने गरी टिकट बुकिङ गरेको विषयमा नेपाल समाचारपत्रले समाचार प्रकाशित गरेपछि उनले महानगरीय आयुक्तको कार्यालयमार्फत् राजीनामा दिएका थिए।
सरकारी निर्देशन अवज्ञा गरेको अभियोगमा उनीमाथि कारबाही गर्नुपर्नेमा प्रहरी प्रधान कार्यालयले भने उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालयले पनि कुनै प्रष्टीकरणविना नै उनको राजीनामा स्वीकृत गरेको छ। मन्त्रालयले पेन्सन सुविधासहित उनको राजीनामा स्वीकृत गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

‘राजीनामा स्वीकृत भएपछि एसपी खरेल अब अमेरिकी नागरिक हुने भएका छन् भने उनले नेपाल सरकारबाट पेन्सन भने पाउने भएका छन्’ –एक उच्च प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

यस अघि विभिन्न कारणले राजिनामा दिएका प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयले पेन्सन नपाउने गरी अवकास दिएको नजिर हुदाहुदैं यसपटक एसपी खरेललाई भने पेन्सन पाउने गरी अवकास दिनु सन्देहास्पद रहेको ती अधिकारीले बताए।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीले नेपालको कानुनअनुसार एसपी खरेलले पेन्सन सुबिधा पाएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘यस विषयमा राज्यले अर्को कुनै कानुन बनाएछ भने खरेलको पेन्सनका बारेमा केही होला नत्र पेन्सन रोक्ने कुरा भएन।’

प्रतिक्रिया दिनुहोस्