युवा संघका अर्का नेतामाथि आक्रमण



कुमार श्रेष्ठ, बाँके
नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीमाथि सांघातिक आक्रमण भएको छ। कोहलपुर–११, विद्युतरोडमा बिहीबार राति बुढाथोकीमाथि खुकुरी प्रहार भएको हो। स्थानीय एक रेस्टुरेन्टबाट निस्केर मोटरसाइकल चढ्ने क्रममा बुढाथोकीको गर्धनमा खुकुरी प्रहार गरिएको थियो।

घाइते बुढाथोकीलाई तत्काल नजिकको कोहलपुर शिक्षण अस्पतालमा सामान्य उपचार गरेर राति नै भारतको लखनउ लगिएको छ। बुढाथोकीलाई लक्ष्मण मल्लले आक्रमण गरेको प्रहरीको अनुसन्धान रहेको छ। मल्लनिकट सात जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको डीएसपी सुरेश काफ्लेले बताउनुभयो। मल्ल भने फरार रहेका छन्।

युवा संघका नेतामाथि एकपछि अर्को आक्रमण भएका छन्। दश दिनअघि रूपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली प्रहार गरेर हत्या गरिएको थियो। तिवारीको हत्यारा पत्ता नलाग्दै केन्द्रीय सदस्य बुढाथोकीमाथि सांघातिक आक्रमण भएको छ।

बुढाथोकीमाथि आक्रमण भएको खबरसँगै युवा संघका केन्द्रीय अध्यक्ष, महासचिव र सचिव नेपालगन्ज आइपुगेका छन्। केन्द्रीय नेतृत्वको उपस्थितिमा युवा संघले कोहलपुर चौराहामा बसेर दुई घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गरेको छ। चौराहा आसपासमा निस्केको जुलुसपछि युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले पाँच नम्बर प्रदेश टुक्रिन नदिन युवाहरू अगाडि सरेपछि विभाजनकारी शक्तिले अपराधीलाई प्रयोग गरेर युवा संघका नेताहरू मार्ने अभियान थालेको बताउनुभयो।‘विभाजनकारीले अपराधीलाई प्रयोग गरेर देशको माया गरेर पाँच नम्बर टुक्रिन नदिने युवाहरूलाई मार्ने अभियान थालेको छ, अध्यक्ष पहारीले भन्नुभयो, हामी रगतको खोलो बगाउँछौं। तर, पहाड र तराईलाई छुट्याउन दिदैनौं।’

अध्यक्ष पहारीले सरकारले तत्काल छदमभेषी होइन, साँचो अपराधीलाई पक्राउ नगरेर युवा संघले कानुनलाई हातमा लिने चेतावनी दिनुभयो। युवा संघका महासचिव किरण पौडेलले युवाहरूमाथि एकपछि अर्को गरी भइरहेको आक्रमणले आफूहरूले सिरानीमा राखेको खुकुरी निकाल्न बाध्य पारेको बताउनुभयो। महासचिव पौडेलले पाँच नम्बरका युवा नेताहरूमाथि योजनाबद्ध र सुनियोजित तवरले विदेशी दलालले आक्रमण गराएको आरोप लगाउनुभयो।

युवा संघका सचिव अशोक चन्दले सरकारको संलग्नता र ‘रअ’को योजनामा युवाहरूको हत्या र आक्रमण भइरहेको टिप्पणी गर्नुभयो। युवा संघका केन्द्रीय नेताहरूले आक्रमणमा प्रयोग हुने भाडाका टट्टु र उक्साउनेलाई बदला लिने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्