मुलुक खेल मैदानः बस्नेत



भक्तपुर, (नेस)
पूर्वउद्योग मन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा राजनीतिक अस्थिरता बढ्दै जादा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउनुभएको छ। आज भक्तपुरको योयोमा हिमाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभामा बोल्दै उहाँले भन्नुभयो ‘नेपाललाई अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रूपमा प्रयोग गर्न खोजिएको छ, अमेरिका, भारतलगायतका देशले चीन बिरुद्ध नेपाललाई खेल मैदानका रूपमा प्रयोग गर्न खोजिदै छ, यसबाट सरकार सजग हुने बेला आएको छ।’

उहाँले देशलाई बिखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभयो। संविधान संशोधनलगायतका विषयमा हाल दलहरूबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले जबरजस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताउनुभयो। संविधान निर्माण हुनुभन्दा अगाडिदेखि नै नेपाललाई विखण्डन गर्ने अतिवादी सोच भएका शक्ति हाबी भएको बताउँदै उहाँले त्यस्ता शक्तिलाई परास्त गर्नसके मात्रै देशको भविष्य सुनिश्चित हुने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले नेपालका ५५ लाख नागरिक सहकारीमा आबद्ध भएको र ४ लाखले प्रतक्ष्य रूपमा रोजगारी पाएको चर्चा गर्दै उहाँले सरकारी, निजी र सहकारी अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव शिव मानन्धर, नागरिक अस्पतालका निर्देशक श्रभिक्त कासिछ्वालगायतले उद्योग एवं व्यवसाय प्रबद्धन गर्न सके देशमा आर्थिक संकट कहिल्यै नआउने बताउनुभयो।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष विज्ञान राईले ७४ लाख ७५ हजार ६९९ रूपियाँ खुद नाफा गर्न सफल भएको र शेयर सदस्यहरूलाई १२ प्रतिशत बोनस वितरण गरेको बताउनुभयो। संस्थाको रु. ५१ करोड २ लाख ३० हजार ४३७ को निक्षेप संकलन भएको, कूल रु. ३ करोड ३४ लाख ३४ हजार ७०० शेयर पूजीँ रहेको बताउनुभयो। कार्यक्रममा संस्थाका चारजना उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो भने यसवर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने संस्थाका सदस्यका ३४ जना छोराछोरीलाई ताम्रपत्रसहित नगद जनही २ हजारका दरले पुरस्कार प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्