एपीएफले क्रिकेटमा स्वर्ण जित्यो



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लबले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ । बिराटनगरको बैजनाथपुरमा शुक्रबार भएको फाइनल खेलमा एपीएफले नेपाल आर्मी क्लबलाई ४९ रनले हराएर स्वर्ण जितेको हो । एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । जसमा कप्तान पारस खड्काको ३३ रन र भुवन कार्कीले जोडेको २४ रनले मध्यम स्कोर बनाउन सफल भयो । अन्यबाट उल्लेखनीय ब्याटिङ हुन सकेन । आर्मीका बलरमा सोमपाल कामी, बिक्रस सोब र चन्द्र साउदले २⁄२ विकेट लिएका थिए ।

जवाफमा उत्रेको आर्मी १७.४ ओभरमा सबै विकेट गुमाएर ७२ रनमा समेटिएको थियो । जसको लागि नरेश बुढाऐरले मात्रै दोहोरो स्कोर बनाए । उनले १७ रन जोडेका थिए । ब्याटिङमा झै बलिङमा चम्केपछि भुवनले आर्मीलाई रजत पदकमै चित्त बुझाउन बाध्य तुल्याए । उनले ४ ओभरमा ११ रन दिएर चार विकेट लिएका थिए ।

यसैगरी कांस्य पदक अर्को विभागिय टोली नेपाल प्रहरी क्लबले जितेको छ । प्रहरीले मध्यमाञ्चललाई ३३ रनले हराएको थियो । प्रहरीले २० ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५५ रन बनायो । तर मध्यमाञ्चलले हरिशंकर शाहको उत्कृष्ट ५२ रनको सहयोग पाए पनि १ सय २२ रनमा रोकिनुपरेको थियो ।

एपीएफलाई फुटबलमा पनि स्वर्ण
सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन भएको पुरुष फुटबलको फाइनल खेल जित्दै नेपाली एपीएफ क्लबले स्वर्ण जितेको छ । क्रिकेटमा झै फुटबलमा पनि एपीएफले नेपाल आर्मी क्लबलाई हराएको थियो । एपीएफले सो खेल २–० गोलअन्तरले जितेको थियो । रजत आर्मीले जित्दा कांस्य पदक नेपाल पुलिस क्लबले हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्