अस्ट्रेलियाले सिरिज जित्यो



मेलबर्न, (एजेन्सी)
अस्ट्रेलियाले पाँचौ तथा अन्तिम दिन नाटकीय जित हात पार्दै पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिज जितेको छ । मेलबर्नमा भएको दोस्रो टेस्ट एक इनिङ र १८ रनले जितेपछि अस्ट्रेलियाले २–० को अग्रतासँगै सिरिज हात पारेको हो । पाकिस्ताको दोस्रो इनिङ १ सय ६३ रनमै रोकिएको थियो । तेस्रो तथा अन्तिम टेस्ट सिड्नीमा जनवरी ३ देखि शुरु हुनेछ ।

अस्ट्रेलियाले ८ विकेटको क्षेतिमा पहिलो इनिङ ६ सय २४ रनमा समाप्त भएको घोषणा गरेको थियो । जसमा कप्तान स्टिभ स्मिथले नटआउट हुँदै १ सय ६५ रन बनाए । १ सय ८१ रन अग्रता लिएको घरेलु टोलीविरुद्ध पाकिस्तानलाई ६८ ओभर दिइएको थियो । तर पाहुना टोली पाकिस्तान ५३.२ ओभरमै अलआउट भएको थियो ।

मिचेल स्टार्कले ३६ रन दिएर चार विकेट लिएपछि नै पाकिस्तानको ब्याटिङ धर्मराएको थियो । चिया समयसम्म टोली ५ विकेटको क्षेतिमा ९१ रनमा थियो । तर यसपछि खेल शुरु हुँदा बाँकी पाँच विकेट पनि सस्तैमा गुमायो । १पाकिस्तानले चियापछि ७२ रन जोडेको थियो । नाथान लायनले तीन विकेट हात पारेका थिए ।

दक्षिण अफ्रिका विजयी
दक्षिण अफ्रिकाले पहिलो टेस्टमा श्रीलंकालाई २ सय ६ रनले हराएर तीन खेलको टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ । पोर्ट एलिजाबेथमा भएको टेस्टको अन्तिम दिन १४ ओभरमा बाँकी ५ विकेट लिएपछि दक्षिण अफ्रिकाले टेस्ट जित्यो । जबकी श्रीलंकाले २४०⁄५ बाट अन्तिम दिनको खेल शुरु गरेको थियो ।

काएल एबोटले कप्तान एन्जेलो म्याथ्युजलाई ५९ रनको लागि तेस्रो ओभरमै आउट गरेपछि श्रीलंका २ सय ८० रनमा समेटिएको थियो । बाँकी विकेट ४० रनमै गुमाएको थियो । एबोटले दुई विकेट लिए भने कागिसो राबाडा र केशव महाराजले तीन–तीन विकेट हासिल गरेका थिए । दोस्रो टेस्ट केपटाउनमा जनवरी २ देखि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्