ऊनीजन्य हस्तकलाका सामग्रीको निर्यात बढेको छ



आठ वर्ष अगाडि स्थापना भएको नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले ऊनीजन्य सामग्रीको निर्यात गर्दै आएको छ। संघमा आबद्ध ५० हजार महिलाले रोजगारी पाउँदै आएका छन्। निर्यातमा राज्यले दिन सक्ने अनुदान र ऋण उपलब्ध गराउने प्रक्रिया र करमा संघले असन्तुष्टि जनाउँदै आएको छ। प्रस्तुत छ– नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष नरेशलाल श्रेष्ठसँग नेपाल समाचारपत्रले गरेको कुराकानी।
नरेशलाल श्रेष्ठ
अध्यक्ष, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले अहिले के गरिरहेको छ ?
हाम्रो संस्थाअन्तर्गत सयभन्दा बढी सदस्य छन्। विभिन्न किसिमका तालिम दिँदै आएका छौं। दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार काम भइरहेको छ।

विदेशमा अहिले पनि नेपाली कामदार लेबरको रुपमा मात्रै जाने अवस्था छ। यसको अन्त्य गर्दै दक्ष बनाएर वैदेशिक रोजगारीका लागि पठाउन विभिन्न काठमाडौं, ललितपुर, काभ्रे, नुवाकोटसँगै दुर्गम जिल्लामा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरिरहेका छौं।

संस्थाको काम दक्ष जनशक्ति उत्पादन गर्ने हो कि उद्योग स्थापना तथा सञ्चालन गर्दै उत्पादन निर्यात गर्ने हो ?

हामीले स्थानीयस्तरमा बेरोजगारलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्ने र स्थानीय स्तरमा उद्योग खोलेर रोजगारी दिने हो। हामीसँग आबद्ध कम्पनीमा करिब ५० हजार महिलाले रोजगारी पाएका छन्।

तपाईहरूसँग कस्ता खालका उद्योग आबद्ध छन् ?
ब्याग, कार्पेट, खेलौनालगायत सयभन्दा धेरै सामग्री बनाउने उद्योग छन्।

उद्योगका लागि दक्ष जनशक्ति पाउन कत्तिको गाह्रो छ ?

वैदेशिक रोजगारमा धेरै युवा जाने गरेकाले नेपालमा दक्ष जनशक्ति पाउन गाह्रो छ। यहाँ भएको युवालाई नै तालिम बनाएर दक्ष जनशक्ति बनाउनु पर्ने अवस्था छ। यसका लागि सरकारले तालिम दिने व्यवस्था गर्नुपर्छ। निजी क्षेत्र तालिम संयोजनका लागि अग्रसरता लिन तयार छ।

उत्पादित सामग्रीको मुख्य बजार कहाँ हो ?

अमेरिका र युरोपका विभिन्न देश हाम्रो मुख्य बजार हो। एसियाका सिंगापुर, हङकङ तथा जापान, भारत चाइना लगायतका धेरै देशमा निर्यात गर्दै आएका छौं। नेपालबाट निर्यात हुने वस्तु ६ अर्बका हस्ताकलाका सामग्री निर्यात हुँदै आएको छ। पछिल्ला केही वर्ष यता पस्मिना र गलैंचा निर्यात घटेको छ भने ऊनीजन्य हस्तकलाका सामग्रीको निर्यात भने बढेको छ।

निर्यातमा केही कठिनाई छ कि छैन ?

खासै त्यस्तो समस्या छैन। सरकारसँग सहकार्य गरेर नै सबै काम भइरहेको छ। तर, सरकारले हामीलाई लगाउँदै आएको करको दरमा केही छुट दिनुपर्छ।

सरकारले दिने अनुदानको प्रक्रिया झन्झिटिलो छ। पहुँच हुनेहरूले सहजै अनुदान दिन सके पनि सामान्य व्यक्तिले निकै हैरानी बेहोर्नु पर्ने अवस्था छ। यसको अन्त्य हुनुपर्छ। नेपालमा निर्यातमा सरकारले दिने अनुदान अरू देशको तुलनामा यहाँ निकै कम छ यसलाई समीक्षा गर्नुपर्छ।

कच्चा पदार्थ नेपालमै उत्पादन हुन्छ कि बाहिरबाट आयात गर्नुपर्छ ?
अधिकांश कच्चा पदार्थ न्यूजील्यान्डबाट आयात हुन्छ। निर्यातका लागि भने विभिन्न देशको उत्पादनसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ। अहिले भारत र चीनले पनि हाम्रो हुबहु नक्कल गरेर उत्पादन गरिरहेका छन्।

निर्यातको बृद्धिदर कस्तो छ ?

निर्यात बढिरहेको छ। गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशत बृद्धि भएको छ। गत वर्षको पहिलो चौमासिकको तुलनामा यो पहिलो चौमासिकमा २५ प्रतिशतले बृद्धि भएको छ।

निर्यात बढाउन कसले के गर्नुपर्छ ?

हामीले गर्ने त गरिरहेका छौं। सरकारले भने केही सुविधा दिनुपर्ने अवस्था छ। सरकारले करको दर घटाउनुपर्छ। सहुलियत ऋणलाई खुकुलो बनाउनु पर्छ। अहिले सहुलियत ऋणलाई तिर्ने अवधि ६ महिनाको छ। यसलाई कम्तीमा एक वर्ष बनाउनु पर्छ। दक्ष जनशक्तिका लागि तालिम केन्द्र खोलिदिनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले ल्याबको आवश्यकता छ। अहिले ल्याब टेस्टका लागि भारत र चीन पठाउनु पर्छ। यस्तो ल्याब सरकारले बनाउनुपर्छ। कार्गोका लागि अहिले हामीले विदेशी विमानलाई महंँगो भाडा तिर्नु परिरहेको छ। नेपाली एयरलाइन्सले सस्तोमा कार्गो गरेको खण्डमा केही सहज हुन्छ।

आगामी योजना के छ ?

अन्तर्राष्ट्रिय बजारसँग प्रस्पिर्धा गर्नुपर्ने भएकाले हामीले प्रत्येक वर्ष अपडेट हुनुपर्छ। त्यसैले हामी हरेक वर्ष नयाँ नयाँ डिजाइन ल्याएर त्यही अनुसारको सामग्री बनाइररहेका छौं। यसवर्ष भने डिजाइनर नै बाहिरबाट ल्याएर नयाँ डिजाइन बनाउने योजना छ। अर्को वर्ष प्रतिस्पर्धी देशको भ्रमण गरेर त्यहाँको नयाँ प्रविधि नेपाल भित्राउने योजना छ।

प्रतिक्रिया दिनुहोस्