गिट्टी बालुवा नहुँदा जलविद्युत् आयोजनाको काम रोकियो



नेपाल समाचारपत्र
पर्वत
पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ। आयोजनाको सुरुङमा कंक्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो।

आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनीले दिएको जानकारी अनुसार कार्तिक महिनादेखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन नसकेकाले निर्माण कार्य पूरै प्रभावित भएको छ। ‘सुरुङ खनेपछि त्यसमा बालुवा र गिट्टीको मिश्रणले कंक्रिटिङ गर्नुपर्ने हुन्छ’ कम्पनीका प्रोजेक्ट म्यानेजर ध्रुब मिश्रले भन्नुभयो–‘बालुवा र गिट्टी नपाउँदा काम नै शुरु गर्न सकेका छैनौं’

कम्पनीका अनुसार अहिलेसम्म ४ हजार १९ मिटर सुरुङमध्ये १ सय ८० मिटरमात्रै खन्न बाँकी छ। खनिएको सुरुङलाई कंक्रिटिङ गर्नुपर्ने हुन्छ। सुरुङ कंक्रिटिङ गर्न ६५ हजार घनमिटर बालुवा तथा १ सय ३० घनमिटर गिट्टी आवश्यक पर्छ। तर, पर्वतका क्रसर र वरपरका क्रसरले समेत मागअनुसार आपूर्ति गर्न नसकेको प्रोजेक्ट म्यानेजर मिश्रले बताउनुभयो। हेम्जाबाट दैनिक १ ट्रिपर बालुवा ल्याएर काम धान्ने काम भएको छ। यस्तै अवस्थामा रहेमा आयोजनाको निर्माण कार्य लम्बिँदै जाने र लागतसमेत बढेर जाने उहाँले जानकारी दिनुभयो। ‘हामीले अहिले नै कंक्रिटिङको काम थाल्न सकेनौं भने आयोजनाको निर्माण अवधि लम्बिन जान्छ’ उहाँले भन्नुभयो–‘जलविद्युत् आयोजनाको काम प्रभावित भएकाले यसलाई सहजीकरणका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ’। पर्वतका क्रसरले माग अनुसार कहिल्यै पनि निर्माण सामग्री उपलब्ध गराउन नसकेकाले आयोजना निर्माणका काममा सधै ंसमस्या हुने गरेको मिश्रको भनाइ छ। सुरुङ मात्रै होइन आयोजनाको अन्य संरचना निर्माणमा पनि निर्माण सामग्रीको अभाव भइरहेको छ।

पर्वतका खोला नालाबाट आवश्यक मात्रामा निर्माण सामग्री निकाल्न नसक्दा आयोजनामा त्यसको प्रभाव परेको छ। पर्वतमा सञ्चालित क्रसर उद्योग तथा आयोजनाको सिभिल निर्माणतर्फको ठेकेदार कम्पनीले राखेको क्रसरले समेत बालुवा र गिट्टी माग अनुसार आपूर्ति गर्न सकेका छैनन्। नदीमा स्काभेटर प्रयोग गरि निर्माण सामग्री निकाल्न कानुनी रुपमा प्रतिबन्ध लागेका कारण आयोजनाका लागि आवश्यक सामग्री पूर्ति हुन सकेको छैन। ‘मानिसले निकाल्दा यस क्षेत्रमा निर्माण हुने घर का लागि पनि बालुवा गिट्टी पर्याप्त हुँदैन’ दक्षिणकाली क्रसर उद्योगका सञ्चालक विप्लव हमालले भन्नुभयो। मानिसले निकाल्दा यस क्षेत्रमा निर्माण भइरहेका जलविद्युत् आयोजना, राष्ट्रिय गौरवका सडक र विद्युत् प्रसारणलाइन तथा सरकारी भवनका लागि बालुवा र गिट्टी आपूर्ति गर्न समस्या हुँदै आएको छ।

जिल्ला विकास समिति पर्वतका राजस्व शाखाका प्रमुख चन्द्रबहादुर क्षेत्रीले स्काभेटर प्रयोग गरेर नदीबाट ढुंगा बालुवा निकाल्न कानुनी रुपमा नमिल्ने बताउनुभयो। ‘मानिसले गर्दा आवश्यक मात्रामा नपुगेको हुन सक्छ’ उहाँले भन्नुभयो–‘मेसिन लगाएर निकाल्न अनुमति दिन सक्ने अवस्था छैन’ तर स्थानीयस्तरमा र राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्य प्रभावित नहोस भनेर जिल्ला अनुगमन समितिले भने विशेष परिस्थितिमा निर्णय गर्न सक्ने क्षेत्रीको भनाइ छ।‘वातावरणीय रुपमा कुनै प्रभाव नपर्ने गरी निकाल्न दिन सकिन्छ । तर, यसका लागि जिल्ला अनुगमन समितिले नै निर्णय गर्नुपर्छ।’ जिल्ला अनुगमन समिति प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्