पुटिनद्वारा अमेरिकी कूटनीतिज्ञ निष्काशन नगरिने



मस्को, (एजेन्सी) रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय चुनामा ≈याकिङ गरेको विषयलाई लिएर अमेरिकाले ३५ जना रूसी कूटनीतिज्ञलाई निष्काशन गरेको रसियामा रहेका अमेरिकी कूटनीतिज्ञहरूलाई पनि त्यस्तै कारबाही गर्नका लागि रूसी विदेश मन्त्रालयले गरेको अनुरोध शुक्रबार अस्वीकार गरेका छन्।

पुटिनले रसियाले गैरजिम्मेवारीपूर्ण कूटनीतिको तल्लो स्तरमा नओर्लने बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा आपसी सम्बन्धलाई अझै सुमधुर बनाउने प्रयास गर्ने बताएका छन्।

त्यसअघि रसियाली विदेश मन्त्रालयले हिजो ३५ जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गर्ने तयारी गरेको थियो। वासिंगटनले हालै चालेको यस्तै कदमको रसियाले प्रत्युत्तर दिन खोजेको हो। रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभले यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई औपचारिक रूपमा अनुरोध गरिसकेको बताएका थिए।

अघिल्लो दिन ओबामा सरकारले अमेरिकी राष्ट्रपतीय चुनावमा आशंकित रूसी ≈याकिङ काण्डमा संलग्न रहेको भन्दै ३५ जना रूसी कूटनीतिज्ञ र तिनका परिवारलाई निष्काशन गरेको थियो। रसियाले अमेरिकाको सो आरोप अस्वीकार गर्दै अमेरिकी कारबाही आधारहीन भएको जनाएको थियो।

रूसी प्रधानमन्त्री दिमित्री मेडभेडेभले सत्ताबाट बाहिरिन लागेको ओबामा सरकारले गरेको उक्त कारबाहीले रसियाविरुद्धको गैरकूटनीतिक कार्य गरेको प्रतिक्रिया दिएका थिए। अमेरिकाको वासिंगटन र सान फ्रानिसस्कोस्थित रूसी कूटनीतिक नियोगका ती ३५ जना कूटनीतिज्ञलाई ओबामा सरकारले ७२ घन्टाभित्र देश छाड्न आदेश दिएको थियो।

त्यसै गरी अमेरिकाले रूसी गुप्तचर सेवाबाट सञ्चालन भइरहेको आरोप लगाइएका न्युयोर्क र मेरिल्यान्डस्थित दुईवटा नियोग पनि बन्द गर्ने निर्णय गरेको थियो। अमेरिकाले रसियाका दुईवटा गुप्तचर निकाय जीआरयू र एफएसबीलगायत नौवटा संस्था र व्यक्ति विशेषमाथि नाकाबन्दी लगाएको छ।

आगामी २० जनवरीमा ओबामाको स्थान औपचारिक रूपमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिने भएका छन्। ओबामाले डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको चुनावी अभियानमा साइबर आक्रमण गरेको आरोप लगाइएका रसियालाई नछोडिने प्रतिबद्धता जाहेर गरेका थिए।

हिलारीका चुनाव प्रचारप्रसार व्यवस्थापक र डेमोक्रेटिक नेसनल कमिटीका केही लज्जास्पद सूचना रहेको इमेल चोरी गरी चुनावी अभियानको दौरान सार्वजनिक गरिएको थियो। तर यसअघि रूसमाथि अमेरिकी नाकाबन्दीको सम्भावनाबारे सोधिएको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने सो ≈याकिङको दाबी घिनलाग्दो रहेको बताएका थिए।

बिहीबार राति भने ट्रम्पले आगामी साता अमेरिकी गुप्तचर प्रमुखहरूसँग यसको पछिल्लो सत्यतथ्यमाथि छलफल गर्ने बताएका थिए। लाभ्रोभले अन्तर्राष्ट्रिय सम्बन्धमा कूटनीतिको कानुन पारस्पारिकतामा आधारित हुने भएकाले अमेरिकाले यसरी एकतर्फी रूपमा रूसी कूटनीतिज्ञहरूमाथि कारबाही गर्न नहुने बताएका थिए। रूसी विदेश मन्त्रालयले मस्कोबाट ३१ र सेन्ट पिटर्सवर्गबाट ४ जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशित गरिनुपर्ने सल्लाह पुटिनलाई दिएको हो।

प्रतिक्रिया दिनुहोस्